डा. ध्रुव बी. खड्का
Ref. https://www.nayapatrikadaily.com/news-details/66596/2021-07-05
उच्चशिक्षा अध्ययनको क्रममा यी देशका वैज्ञानिक,
प्राध्यापक र विद्यार्थीहरुसग विश्वविद्यालय तथा वैज्ञानिक सम्मेलनहरुमा अन्तरक्रिया
गर्दा पंतिकारलाई आश्चर्य लागेको अर्को पक्ष भने कमजोर अंग्रेजी भाषा। यति कमजोर
अंग्रेजी भाषा भएकाले अंग्रेजीमा लेखिएका विज्ञान/प्रविधिका पुस्तक कसरी बुझछन भन्ने
थप जिज्ञासाले पंतिकारको मानसपटल लामो समय गिजोलीरहयो।
किनकि हाम्रो शैक्षिक संरचनामा कमजोर अंग्रेजी
भएकाहरुले उच्च शिक्षामा विज्ञान/प्रविधि संकायमा पढ्न असम्भव प्राय छ। अहिले अंग्रेजी
भाषा विश्वभर विज्ञानको भाषाको रुपमा स्थापितछ। त्यसो त अंग्रेजी भाषा भन्दा पहिले
विज्ञानमा जर्मन भाषाको दबदबालाई थियो। भौतिकशास्त्रका आइन्स्टाइन, हिजेन्वर्ग र
बोर जस्ता विश्वविख्यात वैज्ञानिकहरु जर्मनी कै उत्पादन हुन। अहिले पनि जर्मन,
फ्रेन्चलगायतका अन्य धेरै युरोपेली भाषाहरुमा विज्ञानको दरिलो जग छ। एक अध्ययनका
अनुसार, पछिल्लो समयमा,८०-९०% वैज्ञानिक अध्ययन, अनुसन्धानहरु तथा विश्वविद्यालयका
उत्कृष्ट पाठ्यपुस्तकहरु पनि अंग्रेजी भाषामा प्रकाशित हुन्छन। जसले गर्दा वर्तमान
परिवेशमा विज्ञान/प्रविधि क्षेत्रको उत्कृष्ट जनशक्तिको लागि अंग्रेजी भाषाको
शिक्षा प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको हुन्छ भन्ने आम बुझाईछ।
तर यसको ठिक विपरित, एशियाली आइकन जापान, कोरिया
र चीनमा विज्ञान/प्रविधिका विषयहरुका अध्ययन-अध्यापन आफ्नै भाषामा गरिन्छ। अझ
चाखलाग्दो कुरा,त्यहाका विश्वविद्यालयहरुमा आफ्नो भाषामा अनुवाद गरिएका उत्कृष्ट पुस्तकहरु
पढाईने मात्र होइन परिक्षा पनि आफनै भाषामा दिने गर्छन। जसले गर्दा विज्ञान/प्रविधिको
दरिलो जग आफ्नै भाषामा स्थापित हुनपुगेकोछ। यसै सन्दर्भमा जापानी प्राध्यापक केन कावासाकीले (कावासाकी,१९९६) जापानको औधोगिक समाज निर्माणमा
जापानले उन्नाइसौं शताब्दीको मध्यतिर आफ्नो भाषामा स्थापित गरेको विज्ञान शिक्षाको
जगलाई मुख्य कडीको रुपमा उल्लेख गरेका छन्। उनका अनुसार जापानिज विज्ञानको आफ्नै धरातल
बनाउन पश्चिमा विज्ञानलाई जापानिज भाषामा अनुवादित गरिएकोथियो। यतिसम्म कि
तत्वहरुको नाम समेत बुझ्ने भाषामा जापानीकरण गरिएकोथियो। अहिले पनि त्यहि नै पढाइ
हुन्छ। जापान भन्दा धेरै पछि विज्ञानमा गति लिएका कोरिया र चीनले पनि लगभग
यस्तै रणनीति अवलम्बन गरेको पाइन्छ।
अझ चाख लाग्दो कुरा, यी देशहरुले आफ्नै भाषामा अनुसन्धान
लेखहरु पनि प्रकाशित गर्ने गर्छन। जापानमा त शुरुवाती समयमा अनुसन्धान लेखहरुको
ठुलो हिस्सा जापानिज भाषामा प्रकाशित हुन्थे। आफ्नै भाषाको जगमा उभ्याइएको जापानको
विज्ञान यति प्रभावकारी भयो कि यहिले सम्मका २८जना नोबेल पुरस्कार पाएका जापानिज मध्ये
२५ जना त विज्ञानक्षेत्रका मात्र छन जुन विश्वको पाचौ र एशियाको पहिलो स्थान हो। अझ
पहिलो पुस्ताका कतिपय जापानी वैज्ञानिकहरुको योगदान हुदाहुदै पनि भाषिक तथा अन्य
कारणले नोबेल पुरस्कार नपाएको चर्चा बेलाबेलामा हुनेगर्छ। पछिल्लो समयमा अंग्रेजीमा
अनुसन्धान लेख लेख्ने प्रचलन भएपनि लगभग ९९.५% अनुसन्धान कोष लागि रिसर्च प्रपोजल तथा
आन्तरिक रिपोर्टहरु भने जापानिजमा नै लेख्नु पर्ने अनिवार्य प्रावधान हुन्छ।
यसका अलावा यी देशहरुले आफनै भाषामा लेखिएका वा पुरै
अंग्रेजीमा लेखिए पनि सारांश चाही आफ्नो र अंग्रेजी दुवै भाषामा लेखिएको जर्नलहरु
पनि प्रकाशित गर्छन। भूमण्डलीकरणका बाबजुद, यी देशहरुले नयाँ पुस्तालाई आफ्नो
देशको भाषामा विज्ञानको समानान्तर जग बसाइरहेकोछ। जुन भाषिक अस्थित्वको लागि पनि अनुकरणियछ।
यहाँ मननीय पक्ष भनेको यी देशहरुले विज्ञान/प्रविधिको
अध्ययन-अध्यापन र अनुसन्धानको लागि अंग्रेजीभाषा मात्र प्रभावकारी हुन्छ भन्ने आम
मान्यतालाई तोडेकाछन। आफ्नै भाषामा विज्ञान/प्रविधिको अध्ययन/अध्यापन गर्दा सिकाई
बढी प्रभाकारी हुने र नवीनतम ज्ञानको खोज तथा नयाँ आविष्कारमा विद्यार्थीलाई
उद्देलित गराउन सकिन्छ भन्ने तथ्य नीतिनिर्माताले शुरुवाती चरणमा नै बुझेको
पाइन्छ। फलस्वरूप, विज्ञान तथा प्रविधिलाई आफ्नो भाषामा अध्ययन-अध्यापनको जग
बसाले। जसले गर्दा अंग्रेजी भाषाको प्रखरता नभए पनि ठुलो संख्यामा
विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा प्राथमिकता साथ लगानी गर्दै
अध्ययनको अवसर दिन सके। नयाँ पुस्तालाई आफ्नै भाषाको विज्ञान तथा प्रविधिका
शिक्षामा हुर्काए। जुन यति प्रभावकारी भयो कि अहिले अंग्रेजी कमजोर भएपनि यी देशमा
प्राज्ञिक तथा प्राविधिक जनशक्तिहरु विज्ञान तथा प्रविधिको केन्द्र मानिएका
अमेरिका तथा युरोपका जनशक्तिसग प्रतिस्पर्धामा खरो उत्रिन सकेकाछन। विज्ञान तथा
प्रविधिका क्षेत्रमा यी मुलुकहरुले अब्बल छन। सायन्स तथा नेचर जस्ता बहुप्रतिष्ठित
जर्नलहरुमा अनुसन्धान लेखहरु उल्लेखीय संख्यामा प्रकाशित हुने गर्छन। यसको थप
पुष्टि उत्कृष्ट विश्वविद्यालयहरुको अन्तराष्ट्रिय सुचिमा यी देशका
विश्वविद्यालयहरुको बढ्दो संख्या र उक्लदो स्तरले पनि गरेकोछ।
हाम्रोमा भने विज्ञान/प्राविधिक उच्चशिक्षा
अध्ययनमा अंग्रेजी अनिवार्य मात्र होइन प्रवेश परीक्षाको मापन कसी पनि बनाइएकोछ। जसले गर्दा मुख्यतः विज्ञान/प्रविधिका
क्षेत्रमा अध्ययनमा प्रतिभावान हुदा हुदै पनि अंग्रेजी भाषाको राम्रो दख्खल नभएका विद्यार्थीहरु
प्रतिस्पर्धामा पछि पर्छन। यहाँ मनन गर्नु पर्ने कुरा के हो भने
विज्ञान-प्रविधि-इन्जिनियरिंग-गणितमा राम्रो गर्न सक्ने प्रतिभाहरु अंग्रेजी
भाषामा पनि दक्ष हुन्छन भन्ने छैन। पंतिकारको आफ्नै अनुभवमा, भक्तपुरको
ख्वप कलेजमा +2 अध्यापन गर्दा, हुम्ला, कालिकोटबाट
आएका विद्यार्थीहरुको गणित राम्रो हुने तर अंग्रेजीमा पढ्नु/लेख्नु पर्ने भएकाले
विज्ञानका विषयहरुमा नतिजा कमजोर हुन्थ्यो। यसर्थ हाम्रो जस्तो ग्रामिण बाहुल्य
मुलुकमा कमजोर अंग्रेजी भाषाको कारण विज्ञान/प्रविधिको अध्ययनबाट कैयौ प्रतिभाहरु विमुख
हुनु परेकोछ। मोफसलका विद्यार्थीहरुले रोबर्ट,
हेलिकप्टर, ड्रोन जस्ता कैयौ प्रविधि सम्बन्धि आविष्कारहरुको प्रोटोटाइप बनाएको
खबर पढ्न पाइन्छ। राज्यले देशका कुना कन्दरामा रहेका यस्ता प्रतिभावान
विद्यार्थीहरुलाई भाषिकबार हटाउँदै विज्ञान/प्रविधिको विकास तथा खोजमा समाहित गराउन
आवश्यकछ। यसको लागि आफ्नो भाषामा ज्ञान/विज्ञानको जग बसाल्नु महत्वपुर्ण हुने तथ्य
राज्यले बुझ्न जरुरीछ। यसको ज्वलन्त उदाहरण जापान, कोरिया, चीन जस्ता देशहरुले
देखाइसकेकाछन्।
अब राज्यले सोच्ने बेला आएकोछ के अंग्रेजी
माध्यमको शिक्षाले विद्यार्थीको सिकाई प्रभावकारी भएकोछ त? विज्ञान तथा प्रविधिको
विकासको होडबाजीमा अंग्रेजी माध्यमको शिक्षाबाट हाम्रा विद्यार्थीहरुको त्यस
अनुरुपको प्रतिभा प्रस्फुटन हुन सकेको छ त? यथार्थमा अहिले हामीले विज्ञान/प्रविधिका
नवीनतम ज्ञानलाई आफ्नो भाषामा आत्मासाथ गर्न नसकेका मात्र होइन हाम्रो सभ्यताको
जगमा विकास भएको ज्ञानलाई पनि आधुनिक विज्ञानसग जोड्न पनि चुकेकाछौ । पछिल्लो
समयमा अंग्रेजी माध्यमको शिक्षामा आकर्षण झनै बढ्दोछ। जसले आफ्नै जगको वैज्ञानिक
खोजमा मात्र होइन भाषाको विकासलाई समेत कुपोषित गरिरहेकोछ। यस अर्थमा हाम्रो जस्तो
देशमा अंग्रेजी भाषाको जगमा उभिएको विज्ञान/प्रविधिशिक्षा अमृत कि गुलियो विष हो? भन्ने
प्रश्न गर्ने बेला आएकोछ। अबको विज्ञान शिक्षा आफ्नै भाषाको दरिलो जगमा विकासको
बाहक र महाविपद्को भरपर्दो समाधान बन्न सक्नुपर्छ। यसबारे राज्यले ठोस कदम चाल्न आवश्यकछ।
(लेखक; खड्का (twitter @Dhrubakhadka99: जापानको नेसनल इन्स्टिच्युट फर मटेरियलस
साइन्समा स्टाफ वैज्ञानिकको रुपमा कार्यरत छन)
