Thursday, October 31, 2024

इन्नोभेसनको नर्सरीको नेपाली रोडम्याप

डा. ध्रुव बी. खड्का
डा. ध्रुव बी. खड्का






इन्नोभेसनको नर्सरीको नेपाली रोडम्याप

सन् २०२४ मा भौतिक तथा रसायन शास्त्रको विधागत विश्वविख्यात नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा योगदान गर्ने वै
ज्ञानिकहरुलाई प्रदान गरिएको छ। यो पटकको मुख्यतः भौतिकशास्त्र विधाको नोबेल पुरस्कारले इन्नोभेसन र कोर विज्ञानलाई एकाकार गर्ने वैज्ञानिक कर्मलाई अभिप्रेरणा गरेकोछ। विज्ञानले परिक्षण र नियमित परिस्करणको विश्वासिलो जगमा आधुनिक सभ्यताका बहाकहरुको नयाँ आविष्कार गरिरहेकोछ।
इन्नोभेसन तथा आविष्कारको जगमा अनन्त ब्रहमाण्डमा अर्को सजीव सभ्यताको खोजिरहेकोछ।

आधुनिक सभ्यता हाकिरहेका देशहरुले कसरी वैज्ञानिक सिल्क रोडहरु बनाइरहेका छन्? हामी किन चुकिरहेका छौ? यस आलेखमा बहसको गरेकोछु।

आधुनिक विश्वको इन्नोभेटिभ छलांग

सन् १७१२ताका ब्रिटिस इन्जिनियर थोमस न्युकोमेनले आविस्कार गरेको पहिलो वाफ इन्जिनलाई सुप्रसिद्द मेकानिकल इन्जिनियर जेम्स वाटले सन् १७६९मा इन्नोभेसन मार्फत परिस्कृत गरे। यो इन्नोभेसनसगै औधोगिकरणले गति लियो। ब्रिटिस साम्राज्यसगै विश्वभर फैलियो। औधोगिक क्रान्तिले वाफ इन्जिनको आविस्कारसगै इन्नोभेटिभ छलांग मारे जस्तै औधोगिक क्रान्तिले प्रविधि विकास नयाँ उभार ल्यायो। नयाँ आविस्कारको लागि विश्वविद्यालयहरु अनुसन्धानमा केन्द्रित हुन थाले। फलस्वरूप १९/२०औ शताब्दीमा विज्ञानले अभुतपुर्व फड्को मार्यो।




विज्ञानले उर्जा-प्रविधिको विकास गरे सगै पश्चिमा सभ्यताले इन्नोभेटिभ छलांग हान्यो। अन्य सभ्यताका पढेलेखेको पुस्ता पुरातनमा रुमल्लिरहदा, पश्चिमा सभ्यतामा प्रकृतिमा छिपेको ज्ञानलाई मानव कल्याणको लागि सदुपयोग गर्ने मामिलामा वैज्ञानिकहरुले पुरातन सोचलाई चुनौती दिए। सृजनात्मक चिन्तन र आविस्कारको नेतृत्व गरे।

उदाहरणको लागि, सम्पूर्ण मानव सभ्यताले चट्यांगको आवाज र चमक सुन्यो र देख्यो, हाम्रो सभ्यताले इन्द्रको बज्र प्रहार भनेर रचनात्मक सोचमा बिर्को लगाई दियो। तर वैज्ञानिक बेन्जामिन फ्रान्किनले चट्यांगमा विद्युत प्रवाह हुने पत्ता लगाए। विद्युत सम्बन्धित ज्ञानहरुलाई संश्लेषण गर्दै माइकल फराडेले पत्ता लगाएको विद्युत र चुम्बकीय शक्तिको अन्तरसम्बन्धबाट आविस्कार भएका इलेक्ट्रिक मोटर र ट्रान्सफरमरले व्यावहारिक विज्ञानमा नयाँ फड्को मार्यो। थोमस इडिसन र निकोलस टेस्ला जस्ता बहुचर्चित आविष्कारक तथा इन्जिनियरहरुले विद्युतीय उर्जा उपयोग गर्ने विधिहरुको विकासमा योगदान गरे। जसले वैज्ञानिक युग विकासमा इन्नोभेटिभ छलांग मार्दै नयाँ गति लियो।        

हाम्रो वैज्ञानिक चिन्तनको जमिन

हाम्रा पुरातन सभ्यताका कैयौ सबल पक्षहरु ओझेलमा परेका होलान्। कारण, हाम्रोमा पुरातन ज्ञानलाई प्रश्न गर्ने, परिक्षणको कसीमा राख्ने र परिष्कृत गर्ने भन्दा पनि लिसो जस्तो टासिने चिन्तकहरु हाबी भए। प्रविधि विकासमा काम गर्नेहरु सामाजिक बहिस्करणमा पारिए। नैतिक शिक्षाका प्रवचकहरुको दबदबामा समाजको सृजनशीलतालाई भुत्ते भयो। जसमा राज्यले अप्रतक्ष्य सहयोगीको भूमिका खेल्यो। प्राकृतिक घटना तथा रहस्यहरुलाई दैविक शक्तिको लेप घसेर पुजा आराधाना गर्ने कामले प्रश्रय पायो। जस्तो कि पूर्वीय सभ्यतामा रहेको गणितको ज्ञानको आधार थाहा हुने सुर्य/चन्द्र ग्रहणको विशेष खगोलीय अवस्थालाई आजका दिन सम्म पनि अन्धविश्वाससग जोडिरहेका छौ। जन्म र कर्म भाग्यले निर्क्योल गर्छ भन्ने चिन्तन अझै हाबी छ। र्याडिकल परिवर्तन हुनुपर्ने कैयौ क्षेत्रहरुमा शासकले धार्मिक आडमा घिसिपिटी गरिरहे।

हाम्रो सभ्यतामा रहेको प्राकृतिक चिकित्साको वैज्ञानिककरण हुनै सकेन। जापानले समयको गतिलाई पक्रिदै पश्चिमा विज्ञानको कसिमा आफ्ना पुरातन पुजीलाई परिक्षण, परिष्कृत र व्यावसायिकरण गर्यो। जस्तो कि सन् २०१६मा चिकित्सा विधाको नोबेल पुरस्कार पाउने जापानी वैज्ञानिक योसिनोरी ओहासुमीले मानव शरीरमा हुने प्राकृतिक स्वभक्षिक प्रक्रिया (अटोपेगी) र यो सम्बन्धि जीनहरु बारे नयाँ ज्ञान पत्ता लगाए। आम मानिसमा प्रस्तुत गर्दा उपवाससग जोडेर व्याख्या गरे। तर विज्ञानमा खासै प्रगति नगरेका पुरातन सभ्यताका चिन्तकले यो ज्ञान त ५ हजार वर्ष थाहा थियो भन्दै गर्वको ढोल पिटे। सायद वैज्ञानिक ओहासुमी भन्दा बढी धार्मिक गुरुहरुले अटोपेगी ज्ञान बाडिरहेका छन्।

अपसोचको कुरा, हाम्रो वैज्ञानिक पुस्ता पनि विज्ञान सकिए पछि आध्यात्म शुरु हुन्छ भन्ने भ्रमको परिस्कृत ढोल पिट्न उद्दत देखिन्छ। पश्चिमा सभ्यतामा वैज्ञानिक चिन्तन हाबी भए सगै इन्नोभेसनमा छलांग मारेको वस्तुगत यथार्थतालाई कम्तिमा सचेत पुस्ताले मनन गर्न आवश्यक छ। वैज्ञानिक चेत तथा इन्नोभेसनको नर्सरी आफ्नै माटोमा मुर्झाउन समाजमा वैज्ञानिक चेतको उपभार ल्याउनै पर्छ।

पहिलो विश्वको इन्नोभेसन नर्सरी र हाम्रो जमिन

विश्व इन्नोभेसन सूचांक (जीआईआई)मा स्विट्जरल्याण्ड, स्वीडेन, अमेरिका, सिंगापुर र बेलायत उत्कृष्ट पाचमा पर्छन जो उच्च आय भएका मुलुक हुन् एसियामा सिंगापुर, कोरिया, चीन, जापान, र इजरायल उत्कृष्ट पाचमा भित्र गर्दा सिगापुर ६१.२ अंक सहित जीआईआईमा एसियाली मुलुकमा प्रथम स्थानमा रहेकोछनेपाल भने १८.१ अंक सहित जीआईआईमा १०९औ स्थानमा सिमित छ। आर्थिक महाशक्ति भारतले ३९औ स्थानमा फड्को मार्दा, हामी अन्य सार्क देशहरु ८९औ-श्रीलंका, ९१औ- पाकिस्तान र १०६औ-बंगलादेश भन्दा पनि नाजुक छौ


आर्थिक सूचांक नियाल्ने हो भने नोबेल पुरस्कार, इन्नोभेसन सूचांक र विद्यालय शिक्षाको रोड म्यापमा घनिष्ट सम्बन्ध रहेको पाइन्छ। नोबेल पुरस्कार तथ्यांक नियार्दा, विज्ञानमा नोबेल पुरस्कार पाउने मध्ये २७९ जना वैज्ञानिकहरु अमेरिकाका छन्। जुन कुल संख्याको ४३% हो। विज्ञानको मुल जग मध्येका बेलायत, जर्मन र फ्रान्सका क्रमस ९२, ७४ र ३९ वैज्ञानिकहरु पुरस्कृत भएकाछन्। एसियाको वैज्ञानिक हब जापानका २२ वैज्ञानिकहरुले विज्ञानमा नोबेल पुरस्कार पाएका छन् जुन विश्वको पाचौ ठुलो संख्या हो। विकसित देशहरुले प्रकृतिका नयाँ रहस्य खोज्दै इन्नोभेसनको नर्सरी हुर्काए। विद्यालय शिक्षालाई वैज्ञानिक चिन्तनको नर्सरीको रुपमा विकास गरेको पाइन्छ।  

यसको अनुकरनीय उदाहरण आर्थिक छलांग मारेका एसियाली मुलुकहरुका स्कुले पुस्ताले अन्तराष्ट्रिय विज्ञान ओलम्पियाड (आईएसओ)मा गरेको प्रगतिलाई मान्न सकिन्छ वार्षिक रुपमा सय भन्दा बढी देशहरुबाट आन्तरिक प्रतिष्पर्धाबाट छानिएर आएका निश्चित स्कुले विद्यार्थीहरुले विज्ञानका विषयगत प्रश्नहरुको समाधान गर्ने अन्तराष्ट्रिय प्रतिष्पर्धा आयोजना गरिन्छ आईएसओमा चीन, दक्षिण कोरिया र भियतनाम उदयमान देशहरुले देखाइएको उत्कृष्टताको दबदबाले  विज्ञान शिक्षाको गुणस्तरको प्रतिबिम्बित गर्दछ  

उदाहरणको लागि विज्ञान ओलाम्पियाड सबैभन्दा प्रतिष्ठित मानिने अन्तराष्ट्रिय गणित ओलम्पियाड (आईएमओ)मा २०२३ सम्म ३९ पटकको प्रतिष्पर्धामा चीनका १८५ जनाले विद्यार्थीहरुले स्वर्ण पदक जितेर पहिले स्थानमा छन् भने ५०-प्रतिष्पर्धामा अमेरिकाले १५१-स्वर्ण, ३०-प्रतिष्पर्धामा रसियाले १०६-स्वर्ण, ३७-प्रतिष्पर्धामा दक्षिण कोरियाले ९५-स्वर्ण जितेर उत्कृष्ट चार  स्थान ओगटेको छन्। चाख लाग्दो तथ्य ४८-प्रतिष्पर्धा गरेको उदाउदो मुलुक भियतनामले ६९-स्वर्ण जितेर विद्यालय शिक्षाको उत्कृष्टमा आठौ स्थानमा रहेकोछ। अर्को उल्लेखनीय कुरा के भने, आईएमओका १५ प्रतिष्पर्धाहरुमा चीनका सबै प्रतिस्पर्धीहरुले स्वर्ण पदक जित्न सफल भएका छन्। लगभग चीनको बाटो पछ्याई रहेको कोरियाले तीन पटक सबै सहभागीहरुले स्वर्ण जितेका छन्। हालै सम्पन्न सन् २०२४ सालको आईएमओको प्रतिष्पर्धामा सोधिएका ६वटै प्रश्नहरुको समाधान गरेर पूर्णाक ४२ ल्याएका चीनका विद्यार्थी सर्वोकृष्ट हुदा दुइ नेपाली विद्यार्थीहरुले ११ र ७ अंक ल्याएर सान्त्वना पुरस्कार सहित ४२५ र ४८७ स्थान हासिल गरेका थिए।  

त्यस्तै अर्को बहुप्रतिष्ठित अन्तराष्ट्रिय फिजिक्स ओलम्पियाड (आईफो)मा पनि १४६, ८८, ८२, ८० र ७८ स्वर्ण पदक जितेर चीन, कोरिया, रसिया, ताइवान र अमेरिका उत्कृष्ट पाचमा रहेका छन् भने अन्य एसियाली मुलुकहरु इन्डिया, सिंगापुर र भियतनामले ४९, ४९, ४२ वटा स्वर्ण पदक जितेर उत्कृष्ट १० भित्र परेका छन्। अपवादका कास्य पदक बाहेक सबै आईएसओमा सान्त्वनामा सिमित नेपाल ठोस तयारी बिना सहभागी भइरहेकोछ।

अन्य देशहरुले मिसनका साथ नयाँ पुस्तालाई रचनात्मक सिकाईमा केन्द्रित गरेका छन्। इन्नोभेसनको नर्सरीमा मलजल गरिरहेका छन्। नेपालको सन्दर्भमा रचनात्मक सिकाईको कमि मात्र होइन प्रभावकारी तयारीमा पनि चुकेकाछौ। दुखद पक्ष, देशबाट छानिएका सम्बन्धित विषयका उत्कृष्ट विद्यार्थीहरु अन्तराष्ट्रिय प्रतिष्पर्धामा लगातार पछि पर्दा पनि सुधारको लागि सरकारी वा निजि क्षेत्रबाट ठोस पहल गर्ने चेत खुलेको छैन्।       

विश्वको इन्नोभेसन नर्सरी र गोर्खे अवस्था सुधारको रोडम्याप

इन्नोभेसनको नर्सरीको लागि विद्यालय शिक्षाको नयाँ मोडेल आवश्यक छ। सरकारी स्कुलको हरिबिजोक त छ नै। कहलिएका बुढानिलकण्ठ, वनस्थली, गण्डकी लगायतका चर्चित स्कुलहरु पनि गुणस्तरको ढोल पिट्नमा सिमित छन्। विज्ञान ओलम्पियडको प्रगतिलाई एक मापदण्ड मान्ने हो भने कोरिया तथा भियतनामको परिस्कृत मोडेल अबलम्बन गर्न सकिन्छ

कोरियाले आईएसओमा पाएको अभुतपुर्व सफलताबारे अन्तरक्रिया गर्दा मेरा कोरियन सहपाठी डा. सोंगयोंग किमले कोरियाको विशेष रोडम्यापले सम्भव भएको बताएका थिए। कोरियाले देश भरिका अब्बल विद्यार्थीहरुलाई छान्नेर विशेष स्कुलहरुमा पढ़ाउने व्यवस्था गरेको रहेछ। यस्ता विद्यार्थीहरुलाई विशिष्ट शिक्षकहरुले पढाउने मात्र होइन, विश्वविद्यालयसगको सहकार्यमा विषय विज्ञ प्राध्यापकको सुपरिभेक्षणमा विशेष कक्षा लिने व्यवस्था रहेछ। विद्यावारिधी गर्दै गर्दा डा. किमले पनि सप्तान्तमा यस्ता गिफ्टेड विद्यार्थीहरुलाई भौतिक शास्त्रका प्रयोगात्मक कक्षाहरु लिने गर्दा रहेछन् कोरियाको यो मोडेलले छोटो समयमा आईएसओ प्रतिष्पर्धामा विश्व उत्कृष्ट बन्न सफल भयो।  

भियतनामको प्रगतिको कथा पनि अनुकरणीय छ। सप्तान्तको एक भेटमा हाल भियतनामको विविमा प्राध्यापनरत मेरा सहपाठी डा. गो ह्युन चिएनले आईएसओमा भियतनामको सफलता बारे केही मननीय तथ्यहरु बताए। पछिल्ला दशकमा स्कुल शिक्षामा गुणात्मक फड्को भियतनामले आईएसओलाई ध्यानमा राखेर कोरिया मोडेल अपनाएको मात्र होइन नियमित अन्तरदेशीय प्रतिष्पर्धा पनि गर्दो रहेछ।

जापानले पनि विभिन्न नगरहरुमा विज्ञान केन्द्रित विशेष विद्यालय स्थापना गरेकोछ। मेरा जापानी मित्र डा. कोइचिरो उतोका अनुसार, जापानमा टेक कम्पनीहरुले हाइस्कुलका विद्यार्थी लक्षित विज्ञानका समस्या समाधान गर्ने विषयगत प्रतिष्पर्धा गराउने रहेछन्। यस्ता प्रतिष्पर्धाहरु आईएसओ तयारीको नियमित पाटो जस्तै बनेका रहेछन्।       

हाम्रो सन्दर्भमा भने सन् २०२३मा टोक्योमा भएको फिजिक्स ओलम्पियाडमा विद्यार्थीहरु लिएर आउनु भएका मेरो गुरु भौतिकशास्त्रका प्राध्यापक डा. हरिशंकर मल्लिकसग नेपालको अवस्था बुझ्ने मौका पाएको थिए। हाम्रोमा विश्वविद्यालयका विषयगत समाजमा आवद्द प्राध्यापकहरुको स्वयंसेवी पहलले आईएसओको तयारी गर्नु पर्ने अवस्था रहेछ। आईएसओ मिसन हुनु पर्नेमा राज्यले बेवास्था गरेकोछआईएसओ शैक्षिक गुणस्तरको अन्तराष्ट्रिय ऐना पनि भएकाले यसको उत्कृष्टता देशको लक्ष्य हुनुपर्छ

अहिलेको गोर्खे तरिकाले वैज्ञानिक युगको सिल्क रोडलाई आफ्नो भूगोलमा जोड्ने पुस्ता हुर्कदैन्। कुम्भकर्ण सरकारलाई ब्युझाउनै पर्छ। राज्यले विशेष संयन्त्रबाट गिफ्टेड विद्यार्थीहरु छानेर कम्तिमा एक प्रदेशमा कम्तिमा एउटा विशेष शिक्षालय खोल्नु पर्छ। उदयमान मुलुकको परिस्कृत नेपाली मोडेलमा विषय विज्ञ प्राध्यापकहरुलाई थप सुविधा सहित विशेष विद्यालयहरुमा आंशिक कक्षाहरुको व्यवस्था गर्नुपर्छ।

हाम्रो विद्यालय संरचनामा विशेष व्यवस्था गरेर वैज्ञानिक चिन्तनको जग निर्माण गर्न सरकारले टास्क फोर्स बनाएर काम गर्नुपर्छ। अर्थ व्यवस्थापनको लागि अमुक पार्टीको प्रवर्दनका उल्झिएका व्यावसायिक घरानाहरुलाई इन्नोभेसनको नर्सरी निर्माणमा जोड्न संचार तथा नागरिक समाजले अभियान चलाओस्। विद्यालय शिक्षाको गुणात्मक आवर्तन गर्न सरकारले ओठे निर्देशन होइन, ठोस कार्यादेशको टिप्पणी उठाओस्।

(खड्का (twitter @Dhrubakhadka99, भौतिक विज्ञानका अनुसन्धानकर्ता हुन् )

This was published on 2024/10/30 @NayaPatrika National daily इन्नोभेसनको नर्सरी’ जगाउने कसरी?

Saturday, June 22, 2024

नयाँ पुस्ताको बिगुल: हरित चेतको अभियान



पूर्णलोकतन्त्रको अढाइ दशक हुदै गर्दा १३जना सरकार प्रमुखहरुले सिंहदरबारको बागडोर समाले । तर कुनै पनि प्रमले पुर्णकार्यकाल सत्ता चलाउन पाएका छैनन् । प्रदेश सरकारको फेरबदल त गनिसक्नु छैन् । चुनाव पछि सत्ता गठबन्धन मात्र होइन चुनाव अघि नै गरिएका गठबन्धन पनि मुख्यतःअन्तरपार्टी संघर्षले सत्ता स्थिरता दिन चुकेका छन् । पुर्व प्रमहरु नै पुन: प्रम हुने सत्ता केन्द्रित लिगलिगे दुष्चक्रको अन्त्य हुनसकेको छैन् । विकल्प भनिएका शक्तिहरु अव्यवस्थालाई झन् बढावा दिने गरि सत्ता सयरमा व्यग्र देखिएका छन् । कलुषित राजनीतिको खालमा लोकतन्त्रको आत्मालाई संसद्को पुछ्रे अंकगणितमा खेलेर आलोपालो चीरहरण भइरहेकोछ

  राजनीतिक दलहरुले राणा र पन्चेकालमा अथाह सम्भावनाका बिच आधुनिक विकास प्रवाह पक्रिन चुकेको तितो इतिहासबाट पाठ सिकेको देखिदैन् । आजका दिनमा पहिलो विश्वले विज्ञान-प्रविधि मार्फत विकास र सामरिक शक्ति सन्तुलनको रणनीतिक चेसको गोटी चालि रहदमा, नेपाली नेतृत्व भने युवाहरु बेचेर आएको खहरे द्रब्यमा रमाउदै सत्ताको शकुनी केरेम्बोर्ड खेल्न व्यस्त छ ।  

पछिल्लो समय, विकल्प दिन राजनीति मैदानमा व्यावसायिक तथा प्राज्ञिक क्षेत्रमा सफल मानिएकाहरु जोडिनु सुखद मान्न सकिएला तर विकल्प दिने उद्घोष गरेका नेता तथा कार्यकर्ताहरु आर्थिक अपचलन तथा सामाजिक विचलनमा पर्दा पछाडी जोडिएको पाउनुले आम मानिसमा थप निराशा र संसय पैदा गरेको छ पछिल्लो समयका, बालुवाटार, जहाज खरिद, शरणार्थी प्रकरण, टेरामेक्स, प्रिन्टिङ्गप्रेस, सुन तस्कर, पासपोर्ट, एमडीएमएस, गिरीबन्धु टी–इस्टेट र सहकारी लुट जस्ता दर्जनौ काण्डहरुमा जोडिएका व्याक्तिहरुको विरासत र तीनले पाएको छुट हेर्दा राजनीतिक गाडीको उर्जाले कानुनी राज्यको पर्यावरणलाई नराम्रोसग प्रदुषित गरेको स्पष्ट देखिन्छ । राजनीतिमा जोडिएका यस्ता नयाँ-पुराना मान्छेहरुले कार्वाही गर्नु पर्ने निकायहरुबाट परोक्ष्य रुपमा प्रायोजित उनमुक्ति दिइरहेका छन् । यसले कानुनी शासनलाई मजाक बनाइरहेकोछ । वैकल्पिक राजनीतिको चीरहरण गरेकोछ

नेपाली राजनीति उर्जाको चरित्र र रङ्ग

आर्थिक क्रान्तिको महाभियानको न्यायपूर्ण लोकमार्गको नेतृत्व गर्छु भन्नेहरु नै विभिन्न रंगका खोल भित्र अपचलन र विचलनका फोहोरहरु बोकेर हिड्नेको भीड बढ्दो छ । नागरिकहरुमा भावना र भ्रमको खेती गर्ने मायावी चरित्रहरुले नेपाल निर्माणमा चुनौती खडा गर्न सक्छन् । चौतर्फी अनिश्चितताका बिच सबल नेतृत्व खड्की रहेको छ । भूराजनीतिक रणनीतिमा जेलिएको अवस्थामा राजनीतिक नेतृत्वले रचनात्मक पहल लिन सकेको छैन् । तरल आन्तरिक राजनीतिकमा चलायमान नेतृत्वका उर्जाहरुका चरित्रहरुलाई खुट्याएर खराबलाई किनारा लगाउन ब्यालेट र कानुन एक साथ चुकिरहेका छन्

प्रविधिका उपकरण संचालनमा प्रयोग गरिने उर्जाको प्रकृतिले वातावरणमा प्रभाव पारे जस्तै देशका गाडी हाक्ने नेतृत्वको उर्जाको राजनीतिक चरित्रले  ठुलो प्रभाव पारेको हुन्छ जस्तो कि, उर्जा विज्ञानको नजरमा विश्व विज्ञान मुख्यतः तीन प्रकारका उर्जाहरुले चलिरहेको छ । प्रतीकात्मक रुपमा तिनीहरुलाई रातो, निलो र हरित उर्जाको सुचिकृत गरिएको छ। रातो उर्जा पेट्रोलियमको हो, जसबाट उर्जा सहित पर्यावरणीय प्रतिकुल ग्यासहरू उत्सर्जित हुन्छ । निलो उर्जाको पर्यावरणीय प्रतिकुलता तुलनात्मक रुपमा कम हानिकारक हुन्छ भने हरित उर्जा हानिकारक रहित पर्यावरणीय सन्तुलनमा सहयोगी मानिन्छ । हाम्रो देशको पछिल्लो राजनीति पर्यावरण नियाल्ने हो भने, विगत २ दशकमा मुख्यत: तीन उर्जावाला चेतहरु राजनीतिक इकोसिस्टममा आएकाछन्

पहिलो, लोकतान्त्रिक राज्य स्थापना गर्ने विचारको रातो पुस्ता, जसले रातो उर्जा सहित सफल नेतृत्व गर्यो तर अधिकांस देश विकासमा भन्दा आफ्नो परिवार/आसेपासेको बृद्दी विकासमा भुलिएको छ । यो वर्गको चेतले राजनीतिक अस्थिरताको निरन्तरताको उत्प्रेरक बन्दै राष्ट्रवाद, धर्म, मोर्चा, गठबन्धन र सहकार्यको नाममा कलुषित स्वर्थानुकुल पार्टी फुटाउदै/जोड्दै सिन्डिकेट खडा गर्दैछ। यो समुहमा पुराना राजनीतिकका अधिकांस नेतृत्वहरु पर्छन् । रातो उर्जाको यो नेतृत्व वर्ग आधुनिक देश निर्माणको लागि पुर्णत प्रतिकुल छ

दोस्रो, राजनीतिक विचारको निलो पुस्ता, जो पूर्ण लोकतन्त्रको पृष्ठभूमिमा रातो उर्जावालाको अक्रमन्यतालाई प्रहार गर्दै पपुलिज्मको कुहिरो बनाउछ । जो अहिले रातो उर्जाको सिन्डिकेटतन्त्रको घोडा बनेको छ। पृष्ठभूमि चहकिलो रातो त छैन् । तर व्यावसायिक तथा व्यावहारिक जीवन विवादित र सन्देहास्पद छ। अर्थात केही कालो पोतिएको निलो उर्जा जस्तै अवगुण बोकेको छद्म चेतको जस्तो देखिन्छ । यसमा पहिचान/जातीयताको खोल ओडेका तथा वैकल्पिक बेलुन उडाउने पार्टीहरुका अधिकांस नेताहरु पर्छन् जो सत्ता सयरमा रातो उर्जाका नेत्रित्वहरूसग बेथितिको लौरो समातेर ताते गरिरहेका छन् यो समुहले भावनाको मुखुण्डो लगाएर देश निर्माणको सपनाको मौषमी भ्रमको खेति गरिरहेकोछ । 

तेस्रो, राजनीतिमा उदाइरहेको पुस्ता । जो रातो ऊर्जासग प्रतक्ष्य नजोडिएको मात्र होइन, व्यावसायिक तथा व्यावहारिक जीवनमा पनि कुनै रातो र निलो उर्जाले दुषित छैन् । यो पर्यावरण सन्तुलनको प्रतिक हरित उर्जा बोकेको हरियो चेतको पुस्ता हो । यो शक्तिलाई सम्भावित नयाँ नेतृत्वको रुपमा उदाएका बालेन, विवेकशील अभियान, पारिवारिक विरासत नभएका तथा राजनीतिकमा हामफाली नसकेका नव चेत बोकेका युवाहरुले प्रतिनिधित्व गर्छन् । अबको समाजले मुख्यतः यी तीन रंगहरुको खास्टो ओढ्ने राजनीतिक नेतृत्व र चारित्रिक उर्जालाई खुट्याउनु पर्छ

हरित चेत अभियान

नेपाली समाजको राजनीतिक चरित्र र त्यसले ल्याएको उभारलाई नयाँ पुस्ताले बुझ्ने गरि खुट्याउन विज्ञानको लेन्सले नियाल्नु आवश्यक छ  फिजिक्स विषयमा धेरै प्रयोग हुने रिजोनेन्स थ्योरीको सैद्दान्तिक तथा व्यावहारिक तथ्यले भन्छ जब कुनै पनि पदार्थको गुण अर्को पदार्थसग मिल्छ त्यसले ठुलो उभार देखाउछ। भौतिक विज्ञानमा कैयौ महत्वपूर्ण तथ्यहरु निर्क्योल गर्न रामवाण मानिने रिजोनेन्सको सिद्दान्तलाइ समाज अध्ययनको कोणबाट मनन गर्ने हो भने अहिलेको समाजको मनोविज्ञानको फ्रिक्वेन्सी (चरित्र) परावर्तित भएको देखिन्छ । आम नागरिकको बाहिरी व्यावहार र भित्रि चरित्रमा कही कतै गोलमाल मनोविज्ञान रहेको छ । जसकारण आम चाहना अनुसारको समृद्दी तथा सुशासन अनुरुपको नेतृत्वसग व्यावहारिक रिजोनेन्स गराउन हाम्रो समाज निरन्तर चुकिरहेकोछ

मुख्यतः लिगलिगे राजनीतिक दुष्चक्रबाट देशलाई बाहिर निकाल्न आम मानिसमा हरित चरित्रको रिजोनेन्स गराउनुपर्छ । देश हाक्नेहरुको वास्तविक रङ्ग चिन्न/चिनाउन सामाजिक पर्यावरणको जागरण जरुरी छ। जस्तो कि, नाङ्गो आखाले प्रकृतिमा देखेका वस्तुहरुको वास्तविकता निकै फरक हुन्छ । वस्तुको रङ्ग बारे आधारभूत विज्ञानले भन्छ, जसले प्रकाशका सबै रङ्ग आफुमा समाहित गर्छ त्यो कालो देखिन्छ भने कुनै रंग समाहित नहुने सेतो बेदाग देखिन्छ जहाँ प्रकृति र समाज रंगिन देखिन्छ, त्यहाँ केही रङ्गहरु आफुमा लुकाएको हुन्छ

अब यी वैज्ञानिक तथ्यहरुलाई समाजको जमिनी अवस्थाबाट हेरौ । जसरी विज्ञानको लेन्सले बहुंगी प्रकृतिको रङ्ग हेरेर उसले लुकाएको रङ्ग सजिलै थाहा पाउछ। कानुनी राज्य र निष्पक्ष पत्रकारिताको अभावमा, समाजका बहुरंगी मानिसहरुको देखिने रङ्ग र लुकाएको रङ्ग ठम्याउन सब कोहीलाई कठिन छ । बहुरुपिया र कस्मेटिक दुनियामा बहुसंख्यक मानिसहरुले समय र सन्दर्भमा रङ्ग बदलेर आफ्ना कर्तुत छोप्ने मात्र होइन, भ्रम र भावना भजाएर आफ्नो स्वार्थ सिद्द गर्न उद्दत देखिन्छन् । अहिलेको सामाजिक संजालमा पनि यस्तै प्रवृतिहरुको ठुलो उभार देखिन्छ, यो वास्तविक र भर्चुवल संसारको भ्रामिक रिजोनेन्सको अर्को नमुना हो मानवको सामाजिक जीवनमा छिपेका यस्तै विच्छरिन्खलताहरुले नयाँ पुस्तालाई दिग्भ्रमित पारिरहेकाछन् । जब चरित्रका खोल चिन्ने र चुन्ने हरित चेत अभियानमा आम नागरिक समाहित हुन्छन् । तब मात्र देशमा समृद्दीको पर्यावरण फस्टाउछ।

नयाँ पुस्ताको बिगुल

सामाजिक भ्रमिकरणलाई रोक्दै हरेक क्षेत्रमा हाली मुहाली गरिरहेका समाज तथा राजनीतिक खराब उर्जाहरुका असली रुप आमको उजागर गर्न हरित उर्जाको पुस्ताले हरित चेतको बिगुल फुक्नैपर्छ अमेरिकी राष्ट्रपति रुजभेल्टको आम चेत बारे एक प्रसिद्द टिप्पणी छ,“मतदान भनेको त्यो राइफल हो जसको प्रभावकारिता मतदाताको चरित्रमा निर्भर हुन्छ ।” आम नागरिकले जनमतको राइफललाई सहि निशानामा लगाएर देश निर्माणको चरित्र प्रतिबिम्बित गर्नुपर्छ। नत्र मतदाताहरुको रङ्ग भेदी चेतना तथा चरित्र माथि प्रश्नहरु तेर्सिन्छन् । त्यसैले मतपत्र मार्फत खराब पात्र र प्रवृतिलाई निषेध गरेर समाजमा हरित चरित्र निर्माण गर्न आम नागरिक सुसुचित हुनुपर्छ । देशका अनगिन्ति बेथितिहरुको शल्यक्रिया गर्न अब हरित चेतको राजनीतिक शक्तिको उभार आउनै पर्छ । यसको लागि हरित चरित्र भएका  युवा शक्ति, नागरिक समूह तथा सामाजिक अभियानहरुले एकीकृत अभियान चलाएर सामाजिक चेतनाको शंखघोष गर्ने समय आएकोछ

अबका दिनमा रातो र निलो छविका जो सुकैलाई राजनीतिक मात्र होइन आर्थिक, शैक्षिक तथा व्यावसायिक नेतृत्वमा पुग्न निषेध गर्ने कडा राजनीतिक तथा कानुनी अंकुश लगाउन वच डग जस्तो हरित अभियान चलाउनु अपरिहार्य छ । नागरिक सामु तर्कानुकुलको तथ्यांक देखाउने कुटिलाता प्रस्तुत गरेर विद्वान नेता टोपलिने र वाककलाले सृजना गर्ने दिग्भ्रमित माहोललाई चिर्नु पर्छ । एक प्रसिद्द दार्शनिक एडोनिसले भनेका छन “मतदान भनेको कुन राजनीतिक दल वा नेताले जनतालाई उसको भाषणबाट कति धेरै भ्रामिक प्रभावमा पार्यो भन्ने कुराको मापन हो।”  भ्रमित चेतले सहि गन्तब्यमा पुर्याउदैन् । भुलभुलैयामा पार्नेहरुलाई आम मानिसले चिन्न र निषेध गर्न आवश्यक छ। हरित चेतको नेतृत्व आममानसमा स्थापित भए मात्र राजनीतिक शुद्दिकरणको नयाँ अध्याय शुरु हुन्छ। सम्मुनत नेपालको दरिलो जग बसाउन सकिन्छ । समाजमा हरित चेत र चरित्र सहितको अभियान स्थापित नहुने हो भने हामी लाहुरे विरासतको दलदलमा सदा फसिरहने नै छौ । बनिबनाउ आर्थिक इमारतका कल्पवृक्षको ओत पुस्तौ सम्म खोजिरहने छौ। विप्रेषण अर्थशास्त्रको पहिलो च्याप्टरमा सधै सुचिकृत हुनेछौ । अहिलेको अन्योलको जन्जिर तोड्न, आधुनिक विश्व विकास बुझेको नयाँ पुस्ताले हरित चेतको अभियान मार्फत राजनीतिक शुद्दिकरण गर्दै आधुनिक राष्ट्र निर्माणमा अनुकुल स्थानबाट एकाकार हुनै पर्छ ।


(https://www.nayapatrikadaily.com/news-details/143137/2024-06-13: २o८१ जेठ ३१ बिहीबार o६:५९:oo

हरित चेतको अभियान


Tuesday, May 14, 2024

नीति/कार्यक्रम

सरकार हरेक वर्ष नीति/कार्यक्रम भट्याउछ
देशलाई स्वर्ग बनाउछु भन्छ।
खुट्टा नर्कको बाटोमा हिडाउछ
अर्को वर्षको नीति/कार्यक्रममा स्वर्गमा वासनादार बगैचा बनाउछु भन्छ।
सरकार ऋण लिएर कुलो घुलनशिल माटोमा बगाउछ
बालुवाटारमा सुनको खेति गर्छु भन्छ।
द्रब्यआदानको मलबाट भ्युटावर/सहकारी/स्वर्ण जलारी फलाउछ।
खै किन हो? सरकारका नीतिमा बेथिति मात्र भनभनाउछ

Tuesday, April 16, 2024

चेतकोलगाम

केही सुनेका भुतपरीका कथा ।

केही भोगेका हरिबिजोकका ब्याथा।

केही सुने केही सुनाए।

केही बुझे केही बुझाए।

केही सुझे केही सुझाए ।

अब मुर्छित प्रिय बालसपनाहरुको ज्वरो ओर्लिएन् भने 

सिटामोलको डोज फेर्नु पर्छ।

 बालघाउहरु गहिरिदै गयो भने ।

डाक्टर र नर्सले थप उपचारमा जुटनू पर्छ ।

ए सिटामोलका व्यापारीहरु हो।

ए विरामीका उपचारीहरु हो।

अब पनि सन्चो भएन भने 

अब प्रश्न आयों भोलि उत्तर दिन तयार हौ ।

 सिटामोलमा कति कमिसन खायौ?

अप्रेसन गर्दा कति ओटा खराब टाका लायौ?

बालसपनाहरुले तिम्रा अल्छे फाइलको बन्धक नबनून्।

बालघाउले तिम्रा डाक्टरी प्रमाण पत्रहरुमा नैतिक धावा नबोलून्।

सुझ्नेले बेलैमा सुझाउन, चेतको लगामले चेताउन।

#Action4Change #Reform4QualityEducation

Monday, April 15, 2024

आधुनिक विश्व नियालिरहेको नयाँ पुस्ता

आधुनिक विश्व नियालिरहेको नयाँ पुस्ता 

नयाँ पुस्ता सग -साक्षात्कार, २०७९, उदयपुर

नयाँ पुस्ता सग -साक्षात्कार, २०७९, खोटांग







नेपालको पछिल्लो पुस्ता जुनसुकै पारिवारिक पृष्ठभूमिको किन नहोस् मुख्यतः आर्थिक सुनिश्चितताको लागि देश बाहिर भरपर्दो ओत खोजिरहेको छ। आजका दिनमा प्राकृतिक स्रोत साधनको सदुपयोगले गल्फिएको नयाँ आर्थिक कल्पवृक्ष नेपाली समाजको ठूलो तप्काको जीवन धान्ने बाफिलो आर्थिक छहारी भएको छ। कसैलाई विज्ञान-प्रविधिको विकासको मलजलले मजबुत जरा सहित झांगिएको बहुआयामिक कल्पवृक्षले भरपर्दो आर्थिक ओत तथा समाउने हाँगो दिएको छ। नेपाली समाजको सदियौंदेखिको लाहुरे विरासत विश्वव्यापी हुँदै गइरहेको अवस्था आजको तितो यथार्थ हो।
कोही युवाहरू औजारविहीन हात र खाली खुट्टामा मरुभूमिको तातो हावा लिंदै आर्थिक शितलता खोज्दैछौं त कोही नेपालमा बोलिने १३१ थरीका राष्ट्रिय भाषाहरूलाई इतिहासमा थन्काउँदै विश्व साम्राज्य बनाएको अंग्रेजी भाषाका अलावा आफ्नै भूमिमा आर्थिक साम्राज्यको इमारत खडा गरेका देशहरूका हान्गुल, निहोन, हिब्रु, मान्डरिन जस्ता अनेकौं भाषाहरूमा श्रमका गीतको सुगारटान गर्न विवश छौं। यही विवशतालाई पछ्याउँदै, सन् २०२१ को तथ्यांक अनुसार २ करोड ९० लाख जनसङ्ख्यामा लगभग ८ प्रतिशत नेपाली देश बाहिर छन्।
त्यसो त विश्वव्यापीकरणसँगै आप्रवासको माहोल नेपालमा मात्र होइन विश्वमा नै बढिरहेको छ। विश्व आप्रवासको रिपोर्ट अनुसार नेपालको कुल जनसंख्याको १० गुणा बढी लगभग ३० करोड मानिसहरू आप्रवासमा छन्। जुन विश्व जनसंख्याको लगभग ४ प्रतिशत हो।
आजका दिनमा विप्रेषण अर्थतन्त्रमा, ठूलो विप्रेषणको स्रोत शीर्ष तीन देशमा युएसए, युएई र साउदी अरब हुन् भने एशियाका ठूलो ढुकुटी भएका भारत र चीन उच्च विप्रेषण भित्र्याउनेमा पर्छन्। नेपालको सन्दर्भमा भने जीडीपीको लगभग २५ प्रतिशत विप्रेषणले धानेको छ। जुन विश्वको सातौं उच्च निर्भरता हो। हरेक वर्ष लाखको सङ्ख्यामा विद्यार्थी भिसामा जानेहरूको नयाँ उभारले देशको श्रम मात्र होइन शिक्षा क्षेत्रलाई पनि चुनौती थपिदिएको छ।
विप्रेषणले तत्कालको लागि देशको भकारीमा अन्न थपिएर अनिकाल टरे तापनि हामीले आफ्नो भूमिमा रोप्नुपर्ने बालीको बीउहरू बेचेर पाउरोटी खाइरहेका छौं। यो परनिर्भरताले देशको आफ्नै आर्थिक जग निर्माणमा कमजोर भएको छ। जीवन दैनिकीकै लागि हामीले विदेशिनुपर्ने स्थिति दशकौंदेखि चलिरहनु देशका शासकको नालायकी नै हो।
प्राकृतिक तथा मानव स्रोत–साधनको प्रचुरताको बाबजुद सदियौंदेखिको मलिलो भूमिमा हामीले किन बहुआयामिक कल्पवृक्षहरू उमार्न र हुर्काउन सकेनौं? यो यक्ष प्रश्नको उत्तर २०१७ देखि २०६२ सालसम्म लोकतन्त्रको लागि लडेको पुरानो पुस्ताले मात्र होइन, २०६२/६३ को पूर्ण लोकतन्त्र पछि हुर्किएको पुस्ताले पनि दिनुपर्ने समय आइसकेको छ। नयाँ पुस्ताले विगतका शासकले देश विकासमा गरेका गल्तीबाट पाठ सिक्दै विश्व विकासको वेगलाई पक्रिएर देशको नेतृत्वको लगाम पक्रिनुपर्ने हो तर मौजुदा नयाँ पुस्ता कलुषित राजनीतिक प्रवृतिको फेरो समातेर पितृ नेताहरूसँगै सत्ता वरिपरि ताते गरिरहेको छ।
विश्व विकास प्रवाहमा नेपाल कहाँ चुक्यो?
इतिहासमा सयौं कोणका फेहरिस्तहरू छन्। पृथ्वीनारायण शाहले सन् १७४३ तिर २० वर्षको उमेरमा सत्ता सम्हाले। २८० वर्षअघि विश्व साम्राज्यवादको माहोल बुझेर राज्य एकीकरणको महाभियान चलाए। आधुनिक नेपालको एकीकृत भूगोल स्थापनाको दूरदर्शी चेतले विश्व साम्राज्यवादको पञ्जाबाट तत्कालीन शासकले देशको मानचित्र सुरक्षित गर्ने चुनौतीपूर्ण काम गरे।
तर त्यसयताका शासकहरू आधुनिक विकासको विश्व म्याराथुनमा देशलाई गतिशील बनाउन चुके। दरबार र भारदारको सत्ता द्वन्द्वको अल्झनबाट १०४ वर्षको राणाकालमा कालो सुरूङमा छिर्दा देश नजरबन्दमा पर्‍यो। विश्व राजनीतिले नागरिक स्वतन्त्रता र विकासको आधुनिक युगको रकेट यात्रा गरिरहँदा, एक शताब्दीको कालो कोठरीबाट भर्खरै मात्र निस्केर नागरिक नेतृत्वले बाहिरी विश्व नियाल्न नपाउँदै हाम्रो देश लगभग ६ दशक किस्ताबन्दी लोकतन्त्रको उल्झनमा पर्‍यो । पटक-पटक अवसरै अवसर पाउँदा पनि सदुपयोग गर्न नेतृत्व चुक्दा देश भीख माग्नेको स्थितिबाट माथि उठ्नै सकेन।
नेपाल चुकेको पहिलो कालखण्ड हो राणाकाल। जुन कालखण्डमा पश्चिमी साम्राज्यवादको सिको र सहकार्य गर्दै सम्राट मैजी (सन् १८६८-१९१२) ४४ वर्ष नेतृत्व गरेर जापानलाई आधुनिक देश मात्र होइन विश्व शक्तिको रूपमा स्थापित गरेका थिए। त्यो बेला नेपालमा विश्वको सम्राट बेलायतसँग घनिष्ट सम्बन्ध भएका र सघन सहकार्य गरेका शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८४६ देखि १८७७ सम्म ३१ वर्ष एकलौटी शासन गरेका थिए।
जापानी राजाले समयको गतिलाई पक्रेर आर्थिक जग र भौगोलिक सीमाहरू बढाइरहँदा नेपाली शासक भने एक सय वर्षको कालो समयमा देशको चारकिल्ला संरक्षण मात्रमा सीमित भए। आधुनिक विकासको स्वर्णिम समयको चेत भने मोजमस्तीमा बन्धकी राखे। सम्राट मैजीको आधुनिक जगमा खडा भएको एशियाको आर्थिक साम्राज्य यति बलियो बन्यो कि सन् १९४५ को विध्वंसकारी अमेरिकी एटम बमले बनाएको हजारौंको अग्नि चिहानबाट खरानी टकटक्याउँदै एकाध दशकमा विज्ञान-प्रविधिको अभूतपूर्व विकासको दरिलो जगमा विश्वव्यापी आर्थिक साम्राज्य स्थापित गर्‍यो।
युद्धको चिहानबाट उदाएको अर्को देश कोरिया पनि नेपाली शासकको लागि प्रेरणा बन्न सकेन। आजको दिनमा लाखको संख्यामा नेपालीहरूको रोजीरोटीको गन्तव्य बनेको एशियाको अर्को समृद्ध देश दक्षिण कोरिया। यो देश तीस लाख मानिसको चिहान बनेको कोरिया युद्धको सन् १९५३ मा समाप्तिसँगै चरम आर्थिक संकट र राजनीतिक अस्थिरताको भुमरीमा फसिरहँदा नेपालमा २००७ सालको क्रान्तिपछि लोकतन्त्रको बहाली भइसकेको थियो। राजनीतिक खिचातानीका क्रममा कोरियाका तत्कालीन सेनाप्रमुख चुंग ही पार्कले सन् १९६१ मा सैन्य कु मार्फत देशको सत्ता हातमा लिएर १८ वर्ष शासन गर्दा आधुनिक कोरियाको दरिलो जग बसाल्दै आर्थिक उन्नतिको राजमार्ग बनाए। नेपालको इतिहासमा त्यो कालखण्डमा राजा महेन्द्रले राजनीतिक कु मार्फत स्थापित पञ्चायती शासन थियो। महेन्द्र स्वयंले १७ वर्ष (सन् १९५५ देखि १९७२) सम्म प्रत्यक्ष शासन गरेका थिए।
लगभग उही समयखण्डमा उही प्रकृतिका कोरियन शासक चुंग ही पार्कले युद्धको चिहानले खण्डहर भएको देशमा यावत् चुनौतीलाई पन्छाउँदै समृद्धिको महल बनाउँदै गर्दा हाम्रा तत्कालीन शासकले तुलनात्मक रूपमा अनुकूल समयको सदुपयोग गर्दै आर्थिक उन्नतिका दह्रो र भरपर्दो जग गाड्न सकेनन्। राजा महेन्द्रले ठोस जग बसाउने प्रयास गरेका थिए तर उनको समृद्धिको ब्लुप्रिन्ट बोकेको गाडी बेथितिको भारले थिचिएर आधुनिक विकासको लोकमार्गमा गुड्नै सकेन।
अर्को उल्लेखनीय तथ्य नेपालको पंचायतकालमै अर्को दृष्टान्त सिंगापुरले देखायो। महेन्द्रकालको सुरुवाती समय (सन् १९५९) देखि सिंगापुरको सत्ता सम्हालेका ली क्वानले आफ्नो तीसवर्षे शासनकाल (सन् १९९०) अर्थात् हाम्रो पूरा पंचायत सत्ताको समयावधिमा खोरिया जस्तो भूगोलमा रणनीतिक चातुर्यका साथ आधुनिक सिंगापुरको निर्माण गर्न सफल भएका थिए। नेपालमा भने विश्व शीतयुद्धको फाइदा उठाउँदै आधुनिक विकासको जग बसाल्नुपर्ने त्यो स्वर्ण समय अपहरित लोकतन्त्रको प्राप्तिको आन्तरिक संघर्षमा बितायो। जहानियाँ शासनबाट खोसिएको राज्य सत्ता २००७ देखि २०४६ सालको समयमा आन्तरिक राजनीतिको कुवाभित्र लुकामारी गर्दै खेर गयो। २०४६ सालपछि पनि आन्तरिक राजनीति यति अस्थिर र विकृत भयो कि प्रजातन्त्र बहाली भएको एकाध वर्ष नबित्दै देश युद्धमा फस्यो।
यही समयको सेरोफेरोमा हाम्रा नेताहरूले पछिल्लो समय दृष्टान्त दिने गरेको मलेसियाको विकासका सफल आर्किटेक्चर महाथिर मोहमदले २४ वर्ष नेतृत्व गरेर २०६० सालमा विकसित मलेशिया नयाँ पुस्तालाई हस्तान्तरण गरेका थिए। दुखद संयोग, मलेशियामा मेडिकल डाक्टरले देशको नेतृत्व गरेर आर्थिक निर्माण गरिरहँदा, नेपालका विख्यात विद्वान तथा पेशाले आर्किटेक्चर डा. बाबुराम भट्टराई लगायतको नेतृत्वले भूमिगत जनसरकार गठन गरी पूर्ण लोकतन्त्रको बिगुल फुक्दै विध्वंसको महाभियान चलाइरहेको थियो।
नेपाली नागरिकको दुर्भाग्य यस्तो भयो कि देशमा थरी–थरीको शासन प्रणाली त आयो तर आजका दिनसम्म जापानका-मैजी, कोरियाका-पार्क, सिंगापुरका-ली तथा मलेसियाका-महाथिर जस्तो समयको गति र चुनौतीलाई सामना गर्दै आधुनिक देश निर्माणको नेतृत्व गर्न सक्ने ल्याकत भएको योग्य भूमिपुत्रहरू निस्किएनन्।
अहिले हामी कहाँ छौं ?
माथि उल्लिखित विभिन्न देशहरूले आधुनिक विकासको जग हालिरहँदा हाम्रो देशले किमतीवाला दिनहरू कुवाभित्र लेफ्ट-राइट गर्दै खेर फाल्यो। दोस्रो विश्व युद्धको अन्त्यसँगै विश्व राजनीति, आर्थिक विकासको महाअभियान माहोलमा क्षेत्रीय गठबन्धनको साझेदार र गैर-सरकारी सहयोगको संजालको युगमा प्रवेश गर्‍यो तर नेतृत्वले अवसरलाई सदुपयोग गर्न सकेन।
विज्ञानको भाषामा भन्दा देशको राजनीतिक नीति र नेतृत्वको बलले आधुनिक आर्थिक दूरी पार गरेन। जसले कार्य परिणाम शून्य प्रायः बनायो। देशको कुनै खास सामर्थ्य विकास हुन सकेन। यसले देश जीवनमा दुई कमजोरी प्रतिविम्बित गर्छ। पहिलो, राजनीति, सुशासन तथा आर्थिक नीति परिपूरक नहुनु। दोस्रो, देशले आर्थिक उडानलाई गतिशील बनाउन देशको नेतृत्वको दूरदृष्टि गुरुत्वबल कमजोर हुनु। मुख्यतः देशले समृद्धिमा उडानका बाधाहरूको जमिनी समाधानका रेसाहरू केलाउन सक्ने रचनात्मक नेतृत्वको खडेरी परेको छ।
नेपालको प्रगति मापनका अन्तर्राष्ट्रिय सूचकहरूमा दशकौंदेखि भुमरीमा फसेको देख्न सकिन्छ। नेताहरूले अक्सर वि.सं. २००७ देखिको होस् या पंचायत काल र २०४७ सालयताको देशको शिक्षा, स्वास्थ्य, यातायात संजाल, आर्थिक तथा सामाजिक क्षेत्रका तथ्यको तुलना गर्दै प्रगतिका सूचकांकहरूको सुधार भएको दाबी गरेको पाइन्छ। हिजोभन्दा देश विकासका हरेक सूचकांकहरूमा प्रगति भएको सत्य हो तर यो प्रगति राज्यको भन्दा पनि विकास समयको वहाब र नागरिकको निजी प्रयासबाट भएको हो।
अहिले हुँदै गरेको प्रगतिको तथ्यांकको वृद्धि एक स्वस्थ बालकको उमेरजन्य हुर्काइ जस्तो मात्रै हो। देशको नीति र नेतृत्वले ल्याएको विकास भनेको माथि उल्लेख गरिएका मलेसिया, सिंगापुर, कोरिया र जापान जस्ता देशहरूको कुनै एक कालखण्डमा जस्तो हुनुपर्छ। जहाँ आफ्नै दरिलो आधार सहित ज्यामितीय अनुपातको आर्थिक वृद्धिसँगै देश जीवनका हरेक सूचकांकहरूले छोटो समयमा विश्व गुणस्तरको उचाइमा छलाङ मार्छन्।
हाम्रो देशमा भने वि.सं. १९०३, २००७, २०१७, २०४७ र २०६३ मा भएका मुख्य राजनीतिक घटनापछि उदाएका तत्कालीन नेतृत्वले आफ्नो कार्यकालमा विश्व विकासको प्रवाहलाई समेट्ने कुनै उल्लेख्य काम गरेनन्, जसले देशको आर्थिक विकासमा छलाङ हान्न सकेको होस्।
जतिसुकै तथ्यांक खेलाएर विगत र वर्तमानको तुलना गरे पनि आजको जमिनी सत्य भनेको नेपाल दक्षिणएशियाको सबैभन्दा गरिब र विश्वको १९६ देशहरूमा १७औं गरिब देश हो। प्रतिव्यक्ति आय, बाँच्ने आयु, साक्षरता, आधुनिक सुविधामा आम पहुँच बढे पनि त्यसमा राज्यको नेतृत्वमा खडे बाबाभन्दा अलिकति बढी ठूलो भूमिका मात्रै छ।
दशकौंदेखि विकसित देश तथा गैर-सरकारी संस्थाहरूले दिएको आर्थिक सहयोग र अनुदानको सही ठाउँमा सही तरिकाले सदुपयोग भएको हुन्थ्यो भने अहिले बामे सरिरहेका मानव संसाधनका परिसूचकहरूले भ्यागुते फड्को मारिरहेका हुन्थे। तर आजका दिनसम्म पनि देशको ढुकुटी लाहुरे विरासतले निरन्तर भरिरहेको छ। देशको जीडीपीको एक चौथाइ विप्रेषणले ओगटेको छ। यसलाई घटाउने हुटहुटी सहितको ठोस योजना देखिंदैन।
देशको शिक्षा, सुशासन तथा आर्थिक गतिविधिहरूको चुस्तता दयालाग्दो छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले वार्षिक निकाल्ने १८० देशहरू सूचीकृत भएको सुशासनको इन्डेक्समा पछिल्लो रिपोर्ट (२०२३) मा ३५/१०० अंकसहित ११०औं स्थानमा रहेको छ। जबकि सन् २०१२ मा २७/१०० अंक पाएको थियो। दशकौंदेखिको भ्रष्टाचारको रातो बत्ती नियन्त्रणको ठोस पहल हुनसकेको छैन।
दुःखको कुरा इतिहासमा तत्कालीन शासकले विश्व विकासको गतिमा देशलाई हिंडाउन चुके जस्तै गणतन्त्र नेपालको नेतृत्वहरू पनि पुरानै गल्ती दोहोर्‍याउँदै छन्। अरुले गरेका विकास र समृद्धि कर्महरूका पाठक मात्र भएका छौं। देशको माटोसँग जोडिएको शैक्षिक नीति, विज्ञान तथा सूचना-प्रविधिसँग जोडिएको जनशक्ति, पर्यटन र औद्योगीकरणको जगमा उभिएको आर्थिक सबलता बनाउन चुकिरहेका छन्। नयाँ पुस्ताले असफल नेतृत्वको इतिहास दोहोर्‍याउने बाटोमा हिंडे देश पुन: अर्को भड्खालोमा पर्ने निश्चित छ।
आधुनिक विश्व नियालिरहेको नयाँ पुस्ता
नयाँ पुस्ताले आधुनिक विश्वको गतिशील समय नजिकबाट बुझेको मात्र होइन अनुभूति नै गरेको छ। नव युवाहरूले सूचना-प्रविधिले खुल्ला गरेको अथाह ज्ञानको सदुपयोग गर्दै सफ्टवेयरको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरिरहेका छन्। सूचना-प्रविधिको साम्राज्यले हाम्रो मस्तिष्कको कृत्रिम तथा भावनात्मक इन्जिनियरिङ गरेर आफू अनुकूल प्रयोग गरिरहेको छ।
अब त झन् सूचना-प्रविधिको साम्राज्यबाट देश मात्र होइन नागरिकको सोच माथि नै दूर नियन्त्रण स्थापित गर्ने मोडमा विश्व आइपुगेको छ। जहाँ हामी स्वतः सामेल र समाहित हुँदै आएका छौं। तर हाम्रो जमिन भने निकै फरक छ।
पहिलो विश्वले मंगल ग्रहमा पानी खोज्दै बस्ती बसाल्ने योजना बनाउँदैछ। हामी भने देशको राजधानीको पुरिएको नदी खोज्न र किनारको बस्ती/सडक व्यवस्थित गर्न सकिरहेका छैनौं।
सय वर्ष अघि विश्व माहोल नबुझेर पछिपरेको नेपाल अहिले पनि किंकर्तव्यविमूढ नै छ। हामी युवाहरूलाई बेचेर सुनको थालमा प्वाल परी कुशासनका मतियारहरूलाई बोकी लेफ्ट-राइट गरिरहेका छौं। प्रकृति स्रोत–साधनको धनी देश भीरको चिन्डो जस्तो भएको छ। युएन, युएनडीपी, विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा दीक्षित संसार बुझेका विज्ञहरू समाधान केन्द्रित साधक भन्दा विकास अर्थशास्त्रका सूचना तथा तथ्यांकका प्रवक्ता भएका छन्। राज्य संयन्त्रले देशको जमिनी समस्या नियालेर समाधान निकाल्ने ल्याकत बनाउन सकेको देखिंदैन।
देशको नेतृत्व सत्ता केन्द्रित राजनीतिमा भुलिरहँदा, भूमण्डलीकरणले दिएको विश्व विकास र पहुँचलाई नजिकबाट बुझेको नयाँ पुस्ता अधीर बनेको स्थिति छ। अरुले पुस्तौं कडा मिहिनेत गरेर हुर्काइदिएको बहुआयामिक कल्पवृक्षको बनिबनाउ संसारमा समाहित हुन चाहने बाध्यात्मक र खहरे मनोविज्ञानले उर्वर भूमि सदुपयोग विना नै बन्जर हुने सम्भावना छ। पूर्ण लोकतन्त्र त आयो तर राजतन्त्र र राणाकालमा गडेको वंश र परिवारवादले अहिलेका राजनीतिक दलमा निरन्तरता पाएको छ। यो कु-तन्त्रको निरन्तरताको क्रमभंगता अहिलेको प्रमुख चुनौती हो।
योग्यता, क्षमता र दक्षताको आधारमा देशका विभिन्न क्षेत्रहरूमा अवसरको सुनिश्चितता हुनसकेको छैन। २१औं शताब्दीको मेरिट चेत हाम्रो जमिनमा स्थापित गर्न राज्य सचेत देखिंदैन। नयाँ पुस्ता राज्यले सृजना गरेको यस्ता समस्याहरूबाट वाक्कदिक्क भएको छ। पहिलो विश्वको श्रम बजारका हरेक क्षेत्रमा सहज पहुँच बनाउन सक्छ।
पहिलो विश्वको त्यो माहोल बुझेको पुस्ताको सक्रिय हस्तक्षेपबाट नै आफ्नो जमिनमा ती अवसरहरूको सृजना सम्भव छ। विगतमा नयाँ-पुराना शासकहरूले अन्तर्राष्ट्रिय माहोल बुझेर आफ्नै माटोमा सम्भावनाहरूको बिरुवा हुर्काउन असफल भएकै हो। अबका दिनमा आधुनिक विश्व नजिकबाट बुझेको नयाँ पुस्ताले यावत् चुनौतीलाई चिरेर सबै सम्भावनाहरूलाई देशको जमिनमा स्थापित गर्ने अभियानको नेतृत्व गर्ने बेला आएको छ।

(खड्का भौतिक विज्ञानका अनुसन्धानकर्ता हुन्।)

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...