Wednesday, December 1, 2021

मनोहरा तर्न नसकेको ख्वपः मोडेल

Dhruba B. Khadka

संयुक्त राज्य अमेरिकाका ३०औँ राष्ट्रपति क्याल्भिन कुलिजको स्थानीय सरकारबारे एक प्रसिद्ध कथन छ– ‘हामीलाई धेरै राज्य सरकार होइन, उत्कृष्ट स्थानीय सरकार आवश्यक छ ।’ उनको त्यो समयको शासकीय रुझान अहिले हाम्रो देशले अंगीकार गर्नुपर्ने वेला आएको छ । राज्यव्यवस्था सफल हुन स्थानीय सरकार प्रभावकारी हुनु अति आवश्यक छ । आधारभूत आवश्यकताहरू जस्तै– स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा सबल स्थानीय सरकारको नेतृत्वले केन्द्रीय सरकारले भन्दा प्रभावकारी काम गर्न सक्छ । यसको आंशिक सफल उदाहरण हो– भक्तपुरको ख्वपः मोडेल । सायद राजनीतिक आग्रहले होला, राष्ट्रिय रूपमा खासै चर्चा नभए पनि सक्षम स्थानीय सरकारले मुख्यतः शिक्षा र स्वास्थ्यलाई जनतासँग कसरी जोड्न सक्छ भन्ने एक मोडेल नै हुन सक्छ, यो । 

मैले भक्तपुरको ख्वपः उच्चमावि र इन्जिनियरिङ कलेजमा अध्यापन गर्दा ख्वपः मोडेललाई नजिकबाट बुझ्ने मौका पाएको थिएँ । स्थानीय जनताको अपनत्व अनुकरणीय छ । सायद भक्तपुर एक मात्र यस्तो नगरपालिका हो, जसले बहुप्राविधिक अध्ययन संस्थान, इन्जिनियरिङ कलेज, उच्चमावि तथा स्नातकोत्तरसम्म पढाइ हुने शिक्षालयहरू आफ्नो व्यवस्थापनमा सञ्चालन गरेको छ । जहाँबाट स्थानीय जनतालाई मात्र होइन, अन्य धेरै दुर्गम क्षेत्रका र विपन्न विद्यार्थीले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा पाइरहेका छन् ।

स्थानीय जनशक्तिको सदुपयोग गरी गुणस्तरीय विद्यालय तथा उच्चशिक्षाको ग्यारेन्टी गर्ने ठोस आधार बनाउन स्थानीय सरकार दत्तचित्त भएर लागेको देखिन्छ । ऐतिहासिक सम्पदाको संरक्षण, प्रवद्र्धन तथा पुनर्निर्माणमा पनि उत्तिकै सफल कौशल देखाउनुका साथै आफ्नो परम्परागत प्रविधिलाई समेत जीवित राखेको छ । जस्तो कि, बहुप्रतिष्ठित रानीपोखरीको पुनर्निर्माण गर्ने क्रममा पानीलाई प्राकृतिक तवरले अड्याउन भक्तपुरे परम्परागत प्रविधिको प्रयोग गरिएको थियो । पछिल्लो समय, व्यायाम पार्कको व्यवस्था र ज्येष्ठ नागरिकलाई घर–घरमा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराएर आमनागरिकको स्वास्थ्यमा सचेतना तथा सहज पहुँच बढाएको छ । यस अर्थमा शिक्षा, स्वास्थ्य तथा रोजगारीमा आफ्ना नागरिकको मौलिक हकलाई स्थापित गर्ने बाटोमा यहाँको स्थानीय सरकार हिँडेको मान्न सकिन्छ । 

मैले करिब तीन वर्ष ख्वपःका शैक्षिक संस्थाहरूमा प्राध्यापन गर्दा विभिन्न अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएको थिएँ । नगरपालिकाले आफ्नै विश्वविद्यालय सञ्चालन गर्ने, बृहत् वतावरणीय सन्तुलनसहितको पूर्वाधार निर्माण गर्ने, पुरातात्विक सम्पदाहरूको संरक्षण, जनस्वास्थ्यमा सुलभ पहुँच, एक घर एक ग्य्राजुएट एक रोजगारी जस्ता दूरगामी तथा बहुआयामिक महत्वका योजनाहरूबारे विमर्श हुने गर्थे ।

ख्वपः मोडेलको योजनागत आधार तयार गर्ने भौतिक संरचनासहितका शैक्षिक संस्थानहरू सञ्चालन गरी आधारभूत राजमार्ग बनाउन नगरपालिका दत्तचित्त रहेको देख्न सकिन्छ । पछिल्लो समय ख्वपः विश्वविद्यालयको अवधारणाअनुरूप ख्वपः अस्पतालको स्थापना गरेर शिक्षण अस्पताल बनाउने लक्ष्यका साथ गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको छ । विविध कारणले मनोहरा तर्न नसकिरहेको ख्वपः मोडेलले राष्ट्रव्यापी आकार लिन नसके पनि यहाँको स्थानीय सरकारको दूरदर्शितासहितको कार्यनीति भने देशव्यापी लागू गर्नुपर्ने स्तरका छन् । पूर्वाग्रहभन्दा माथि उठेर यो नगरपालिकाको टिमलाई सरकारले विशेष बजेट दिने तथा योजना कार्यान्वयनमा सहजता प्रदान गर्ने हो भने छोटो समयमा देशको रोलमोडेल नगरपालिकाको राष्ट्रिय मानक यसलाई बनाउन सकिन्छ । 

त्यसो त अहिले देशका अधिकांश स्थानीय सरकारहरू ठेक्का, कमिसन, प्राकृतिक स्रोत दोहनजस्ता अनेकौँ विकृत कार्यहरूमा कुख्यात हुँदै छन् । तर, यावत् विकृतिहरूलाई चिर्दै ख्वपः मोडेलले भने आफ्नै जमिनमा टेकेर अन्तर्राष्ट्रिय लय समातेको देख्न सकिन्छ । ख्वपः टिमले गुणस्तरीय शिक्षाका लागि स्थापना गरेको उच्चशिक्षाका आधारभूत तथा प्राविधिक शिक्षालय र स्वास्थ्यको सुलभताका लागि बनाएको मार्गचित्र दक्षिण कोरियाको सिओल तथा जापानको टोकियो महानगरको जस्तो छ, जुन सुखद संयोग हो । शिक्षाकै सन्दर्भमा हेर्ने हो भने टोकियो महानगरले टोकियो मेट्रोपोलिटन युनिभर्सिटी सञ्चालन गरेको छ भने सिओल महानगरले युनिभर्सिटी अफ सिओल स्थापना गरेको छ ।

निश्चय नै यी विश्वविद्यालयहरूका प्राथमिकता ख्वपः मोडेलभन्दा उच्च स्तरका छन् । तर, सही बाटो समात्नु कालो बादलमा चाँदीको घेरा देखिनुझैँ हो । अझ विकसित देशहरूमा विकास निर्माण तथा सामाजिक एवं वातावरणीय समस्याहरूको सन्दर्भमा मझौला स्केलका अध्ययन, अनुसन्धानहरूमा स्थानीय सरकारले विश्वविद्यालयसँग सहकार्य गरेको पाइन्छ । तर, हाम्रोमा शिक्षालयलाई स्थानीय समस्या तथा योजनाहरूमा जोड्ने सघन काम हुन सकेका छैनन् ।

विविध कारणले मनोहरा तर्न नसकिरहेको ख्वपः मोडेलले राष्ट्रव्यापी आकार लिन नसके पनि यो स्थानीय सरकारको दूरदर्शितासहितका कार्यनीति भने देशव्यापी लागू गर्नुपर्ने स्तरका छन्

 

(खड्का जापानको नेसनल  इन्स्टिच्युट फर मटेरियल्स साइन्समा स्टाफ वैज्ञानिकका रूपमा कार्यरत छन्) 

जस्तो कि, आधारभूत विद्यालयको पुनर्संरचना वा विशिष्ट शिक्षालय स्थापना गरेर नागरिकका हरेक दैनिकीसँग जोड्न स्थानीय सरकारले भरपर्दाे जग बनाउन सक्छ । हाम्रो सामाजिक संरचना र आर्थिक सबलता नियाल्ने हो भने विद्यालय शिक्षालाई पूर्णतः अनिवार्य गराउन र बालश्रममुक्त गर्न भौतिक संरचनाहरूलाई विस्तार गर्दै दिवा वा पूर्ण आवासीय विद्यालयको व्यवस्था गर्नु उचित हुन्छ । विद्यालय संरचनाभित्रबाटै खेलकुदका प्रतिभा पहिचान तथा विकास गर्ने भरपर्दाे व्यवस्था गर्न सकिन्छ । यसका अलावा विद्यालयस्तरबाट नै सानो स्केलमा वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनमा नयाँ पुस्तालाई आबद्ध गराउन सकिन्छ । 

विकसित देशमा नयाँ पुस्ताका लागि स्थानीय सरकारमार्फत धेरै रचनात्मक कार्य गरेको पाइन्छ । पंक्तिकारले उच्चशिक्षा अध्ययन गरेको विश्वविद्यालयमा स्थानीय सरकारको संयोजनमा हरेक सप्तान्तमा विज्ञान, प्रविधिमा विशेष रुचि भएका स्कुले विद्यार्थीहरूलाई विज्ञानका जिज्ञासु प्रयोगहरू विद्यावारिधिका शोधार्थीहरूको सहजीकरणमा गरिन्थ्यो । अर्काे प्रसंग, भर्खरै मात्र पंक्तिकारको अनुसन्धान समूहमा इन्टर्न गर्न एक अन्डरग्य्राजुएट विद्यार्थी आएकी थिइन् । चाखलाग्दो पक्ष के छ भने नगर सरकारले स्थापना गरेको विज्ञान तथा प्रविधिसम्बन्धी विशेष शिक्षालयमा पढेकी ती छात्राले नगरको छात्रवृत्तिमा विद्यालय पढ्दा नै क्योटो विश्वविद्यालयका एक प्रख्यात प्राध्यापकको प्रयोगशालामा दुई महिना अनुसन्धान गरेकी रहिछन् । जसलाई स्थानीय सरकारको दूरदृष्टिको उच्चतम कदम मान्न सकिन्छ ।

अझ रोचक के छ भने जापानमा स्थानीय सरकारको नीतिअनुसार आफ्नो इलाकामा अवस्थित सरकारी शैक्षिक तथा अनुसन्धान केन्द्रहरूले प्रत्येक वर्ष आफ्नो संस्थाले गरिरहेको काम तथा अनुसन्धानका पछिल्ला उपलब्धिहरूबारे सार्वजनिक प्रदर्शनी गर्छन् । यस्ता पब्लिक ओपनिङहरू मुख्यतः बालबालिकाकेन्द्रित र जिज्ञासा जगाउने तथा प्रोत्साहित गर्ने खालका हुन्छन् । हाम्रोमा पनि बाल प्रतिभाहरूलाई सिकाइमा प्रोत्साहित गर्न स्थानीय सरकारबाट माथि उल्लेखितलगायतका कैयौँ रचनात्मक कार्यहरू गर्न सकिन्छ । 

तर, अपशोच ! पहिलो विश्वले शिक्षाको दरिलो जगबाट लामो फड्को मारिसक्दा पनि हामी शिक्षाको जग मजबुत बनाउन चुकिरहेका छौँ । अझै पनि ठूलो संख्यामा विद्यालय उमेरसमूहका बालबालिका विद्यालयबाहिर छन् । अहिलेको गतिशील विश्वमा बालबालिकाहरू विद्यालयबाहिर रहनु दुःखदायी विषय हो । शिक्षा विभागको २०७२–फ्ल्यास रिपोर्टअनुसार कक्षामा पढ्ने उमेरसमूहका ९६.६ प्रतिशत विद्यार्थी भर्ना भए पनि करिब एक लाख बालबालिका विद्यालयबाहिर रहेका छन् । कक्षा ९–१० मा त्यो संख्या ५७.९ प्रतिशतमा सीमित छ ।

उक्त उमेरसमूहका ४२.१ प्रतिशत अर्थात् करिब पाँच लाख २५ हजार बालबालिका विद्यालयबाहिर रहेको देखिन्छ । अझ पछिल्लो समय विद्यालय शिक्षामा गाभिएको कक्षा ११–१२ मा त भर्नासंख्या १६.६ प्रतिशत मात्र रहेको छ । त्यो उमेरसमूहका लगभग १० लाख नवयुवा औपचारिक शिक्षालयबाट बाहिर रहेका छन् । यसले बेरोजगारी बढाउने मात्र होइन, सभ्य समाज निर्माणमा पनि असर गर्छ । शिक्षा विभागले सार्वजनिक गरेको २०७६–फ्ल्यास रिपोर्टमा तथ्यांकहरूमा केही सुधार देखिए पनि गुणात्मक फड्को मार्न सकेको देखिँदैन । सक्षम नेतृत्वले दृढतापूर्वक काम गर्ने हो भने बढीमा दुई आर्थिक वर्षभित्र विद्यालय शिक्षामा शतप्रतिशत संख्यात्मक र देखिनेगरीको गुणात्मक सुधार एकैसाथ गर्न सकिन्छ । यसका लागि राजनीतिक नेतृत्वले शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग भने राख्नैपर्छ । 

अबका दिनमा शिक्षा क्षेत्र, मुख्यतः विद्यालय शिक्षा सुधारका लागि देशका ७५३ स्थानीय सरकारहरूलाई जिम्मेवार बनाउनुपर्छ । ख्वपः मोडेल यसको एक मानक हुन सक्छ । विद्यालय शिक्षाबाट दीक्षित हुँदै गर्दा नवयुवाहरू शिक्षित मात्र होइन, आफ्नो क्षमता र रुचिअनुसारको सैद्धान्तिक ज्ञान, प्राविधिक दक्षता तथा प्रतिभा प्रस्फूटनसहितको नागरिक भएर निस्कने वातावरण स्थानीय सरकारमार्फत सुनिश्चित गर्नेतर्फ जिम्मेवार पक्षले ठोस कदम चालोस् । 

Friday, October 15, 2021

यो मेरो मन

ध्रुव बी खड्का, २०७८-दशैँ

कोशीको भंगालो छुटेको बेला

आत्माको लहरो टुटेको बेला

कसरी सुसाउछ भंगालो अब

भावनाको वह पोखिन्छ जब

सुस्ताउ कि सुसाउ तिमि नै लौ भन

बैराघ्य हुदा यो मेरो मन


घाम र पानी परेको बेला

इन्द्रेणी रङ्ग छरेको बेला

गाउलान कि कतै झ्याउकिरी गीत

रंगका बहार झुल्छन कि कतै छितिज सित, 

गाउने कि गम्ने मन मनै गुन

सप्तरङ्गमा मात्रै खोज्ने तिम्रो त्यो मन


यात्रामा जात्रा झेलेको बेला

गुमाउने बाइ रोडले रेलेको बेला

बालुवामा तेलको निराशा बोकी  

घुम्तीको जीवन किम्तीलो भोकी   

जात्रा कि जब्बर तिमि नै लौ चुन

जीवनको जलन कल्पिदै लौ आफै गुन

Sunday, September 19, 2021

सिंह र स्वेर कामना

ध्रुव बी. खड्का,
२०२१/०९/२०,
 संविधान दिवस
सिंहहरू जंगलमा गर्जिदै गर्दा

गाउ/शहरका ब्वासा र स्यालहरू सिंहदरबारमा रम्दै थिए।

जंगली सिंहहरू शाहाकारी भएर शहर पस्दै गर्दा 

 स्यालहरू शहरलाई रेबिज ग्रस्त बनाउन अभ्यस्त थिए।


शाहाकारी सिंह जंगल बासको विस्मिर्तिमा स्वर्ण पलंगमा रम्दै गर्दा 

ब्वासाहरू मिसनरी र कमिसनका ठेकेदारहरुको ओत र गोदमा कोपभाजनमा अभ्यस्त थिए।

सिंहका सारथीहरू रेबिज ग्रसित ब्वासा र स्यालहरूसग लोली मिलाउन चितुवा, खिरखिरे, ढाडे र  छुचुन्द्रो बन्दै गर्दा।

शाहाकारी सिंहको बलिष्ट जंगली बथान शहरिया ब्वासा र स्यालहरूसग सिनोहरुको  भोजनमा स्वादीन थाले 


हो त्यही विन्दुबाट वक्रिय पथमा भ्रमको बुर्की छर्दै 

नागरिकका सपनाहरुको मलामी  यात्रा तय गरे 

सुमार्गी हुदै सारदानाथमा गएर मृत्युसग सत्संग र किर्तन गर्दै ।

 सुरक्षित बासको भागदौड़मा अवसानको अन्तिम भोज आयोजना गरे।   

त्यहि बाट कालो सुरुंगमा छिर्यो  त्यो शाहाकारी सिंहको बथान

सिर्फ सुरक्षित बासको  सौदाबाज़ीको नाममा आफ्नै चीता बनाए ।

अस्थित्वका खातिर कोहि धुर्तहरुले ब्वासोसग त कोहिले चितुवासग मीतलाए

कोहिले स्यालसग त कोहि सुगूरसग प्रित लाए।


सारदानाथको प्रसाद खान जंगली बथान अभ्यस्त रहदा।

शाहाकारी सिंहको गर्धन समातेका ब्वासो/स्यालहरु  यति र ओम्नीमा सयर गर्दैथिए।

रेबिज ग्रसित ब्वासोहरूले चौधरीको चाउचाउ हजाम गरेर गोल्छाको गम्छाको फेरो समात्दै।

दूगर्डसग टुबोर्कको चुस्की लिदै अग्रवालको महलमा आहाल बसेर छदम भेषी ठोरी रामलिला गाउदै थिए ।


तीर्थाटन गर्न निस्किने बहानामा स्वार्थको रोटि सेक्न शकुनी जाल बुन्दै थिए 

हाम्रा पसिना र हाम्रै बाजेको रगतको टारमा बसेर स्वार्थ/झेलको शकुनी खाल बनाउदै थिए

हाम्रा बाजेकै अस्तुबाट कैयौ थान कोडी कौडा बनाउदै थिए 

बस त्यहि महाभारत त्यहि शकुनि कौडा 

बस त्यहि युद्दपासा पात्र अनि प्रवृति

कर्णहरुको दुरुपयोग शकुनीको बाचालमा दुर्योधनको  बढ्दो गर्जन।

प्रतिभावान अभिमन्युहरुलाई चक्रव्युहमा पारि स्याल जयद्रथहरुले हत्या गर्दै गर्दा

हठी भिष्म, कुण्ठित कर्ण र प्रतिसोधि  द्रोणहरु जाली शकुनी चंगुलमा अवसानको  यात्रा थिए

आफैले सुरक्षाको जिम्मा लिएको साम्राज्यमा आफै लुट्न अभ्यस्त त्यो रक्त कुण्ड संग्रामको जात्रा थियो 


अब हेर्न र भोग्न बाकि छ यो लुटतन्त्रमा जाली, लुटाहा र लुच्चाहरुको कुशासनमा

पाण्डवका नवबालकहरुको  शीर छेदन गर्ने  अर्को अस्वश्थामा को देखिने हो?  

कसले त्यो अघोरी अस्वश्थामाको मणि निकालेर अजये मातृभूमिको रक्षा गर्ने हो?


बस भगवान भरोसामा स्वर्णिम सपना 

अनि त्यो स्वर्ग भुमि 

त्यो बलिदानको पौरख त्यो कुकर्मीहरुको कलुषित रजगज  

बस  त्यो स्वेर कल्पना   

त्यो नरभक्षी  सिंहको अवसान  ब्वासा र  स्यालहरुको सफाया 

त्यो समुद्र मन्थन अनि त्यो कामधेनुको पुन:जन्म

बस  त्यो स्वेर कामना 


Monday, July 5, 2021

अंग्रेजी शिक्षा अमृत कि गुलियो विष ?

 डा. ध्रुव बी. खड्का

Ref. https://www.nayapatrikadaily.com/news-details/66596/2021-07-05

विज्ञान र प्रविधिका दरिलो जगमा उभिएका देशहरुको आर्थिक गतिशिलता र सामरिक महत्व बढ्दोछ। पछिल्लो समय, युरोप र अमेरिकाको विज्ञान/प्रविधिमा रहेको एकछत्र प्रभुत्वमा एशियाका जापान, कोरिया र चीन जस्ता देशहरुले जबरजस्त उपस्थिति देखाएकाछन्। एशियाका यी देशहरु छोटो समयमा पश्चिमा देशहरुको हाराहारीमा कसरी पुगे? हाम्रो जस्तो देशले गहिरिएर केलाउनुपर्ने विषय हो। सिधा हेर्दा यी देशहरुले विज्ञान/प्रविधिमा धेरै लगानी गरेकाले हो भन्ने लाग्छ। तर यी देशहरुले शुरुवाती चरणबाट नै ठुलो संख्यामा प्राविधिक जनशक्ति मात्र होइन विज्ञान/प्रविधिका अत्यान्त जटिल सिद्दान्त बुझेर थप नयाँ प्रविधिको विकास गर्न सक्ने उच्च स्तरको प्राज्ञिक जनशक्ति कसरी निर्माण गरे? भन्ने कुराले विज्ञान/प्रविधिका विविध क्षेत्रहरुमा अनुसन्धानरतहरुलाई घोत्लिन बाध्य बनाउछ।   

उच्चशिक्षा अध्ययनको क्रममा यी देशका वैज्ञानिक, प्राध्यापक र विद्यार्थीहरुसग विश्वविद्यालय तथा वैज्ञानिक सम्मेलनहरुमा अन्तरक्रिया गर्दा पंतिकारलाई आश्चर्य लागेको अर्को पक्ष भने कमजोर अंग्रेजी भाषा। यति कमजोर अंग्रेजी भाषा भएकाले अंग्रेजीमा लेखिएका विज्ञान/प्रविधिका पुस्तक कसरी बुझछन भन्ने थप जिज्ञासाले पंतिकारको मानसपटल लामो समय गिजोलीरहयो।

किनकि हाम्रो शैक्षिक संरचनामा कमजोर अंग्रेजी भएकाहरुले उच्च शिक्षामा विज्ञान/प्रविधि संकायमा पढ्न असम्भव प्राय छ। अहिले अंग्रेजी भाषा विश्वभर विज्ञानको भाषाको रुपमा स्थापितछ। त्यसो त अंग्रेजी भाषा भन्दा पहिले विज्ञानमा जर्मन भाषाको दबदबालाई थियो। भौतिकशास्त्रका आइन्स्टाइन, हिजेन्वर्ग र बोर जस्ता विश्वविख्यात वैज्ञानिकहरु जर्मनी कै उत्पादन हुन। अहिले पनि जर्मन, फ्रेन्चलगायतका अन्य धेरै युरोपेली भाषाहरुमा विज्ञानको दरिलो जग छ। एक अध्ययनका अनुसार, पछिल्लो समयमा,८०-९०% वैज्ञानिक अध्ययन, अनुसन्धानहरु तथा विश्वविद्यालयका उत्कृष्ट पाठ्यपुस्तकहरु पनि अंग्रेजी भाषामा प्रकाशित हुन्छन। जसले गर्दा वर्तमान परिवेशमा विज्ञान/प्रविधि क्षेत्रको उत्कृष्ट जनशक्तिको लागि अंग्रेजी भाषाको शिक्षा प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको हुन्छ भन्ने आम बुझाईछ।

तर यसको ठिक विपरित, एशियाली आइकन जापान, कोरिया र चीनमा विज्ञान/प्रविधिका विषयहरुका अध्ययन-अध्यापन आफ्नै भाषामा गरिन्छ। अझ चाखलाग्दो कुरा,त्यहाका विश्वविद्यालयहरुमा आफ्नो भाषामा अनुवाद गरिएका उत्कृष्ट पुस्तकहरु पढाईने मात्र होइन परिक्षा पनि आफनै भाषामा दिने गर्छन। जसले गर्दा विज्ञान/प्रविधिको दरिलो जग आफ्नै भाषामा स्थापित हुनपुगेकोछ। यसै सन्दर्भमा जापानी प्राध्यापक केन कावासाकीले (कावासाकी,१९९६) जापानको औधोगिक समाज निर्माणमा जापानले उन्नाइसौं शताब्दीको मध्यतिर आफ्नो भाषामा स्थापित गरेको विज्ञान शिक्षाको जगलाई मुख्य कडीको रुपमा उल्लेख गरेका छन्। उनका अनुसार जापानिज विज्ञानको आफ्नै धरातल बनाउन पश्चिमा विज्ञानलाई जापानिज भाषामा अनुवादित गरिएकोथियो। यतिसम्म कि तत्वहरुको नाम समेत बुझ्ने भाषामा जापानीकरण गरिएकोथियो। अहिले पनि त्यहि नै पढाइ हुन्छ। जापान भन्दा धेरै पछि विज्ञानमा गति लिएका कोरिया र चीनले पनि लगभग यस्तै रणनीति अवलम्बन गरेको पाइन्छ

अझ चाख लाग्दो कुरा, यी देशहरुले आफ्नै भाषामा अनुसन्धान लेखहरु पनि प्रकाशित गर्ने गर्छन। जापानमा त शुरुवाती समयमा अनुसन्धान लेखहरुको ठुलो हिस्सा जापानिज भाषामा प्रकाशित हुन्थे। आफ्नै भाषाको जगमा उभ्याइएको जापानको विज्ञान यति प्रभावकारी भयो कि यहिले सम्मका २८जना नोबेल पुरस्कार पाएका जापानिज मध्ये २५ जना त विज्ञानक्षेत्रका मात्र छन जुन विश्वको पाचौ र एशियाको पहिलो स्थान हो। अझ पहिलो पुस्ताका कतिपय जापानी वैज्ञानिकहरुको योगदान हुदाहुदै पनि भाषिक तथा अन्य कारणले नोबेल पुरस्कार नपाएको चर्चा बेलाबेलामा हुनेगर्छ। पछिल्लो समयमा अंग्रेजीमा अनुसन्धान लेख लेख्ने प्रचलन भएपनि लगभग ९९.५% अनुसन्धान कोष लागि रिसर्च प्रपोजल तथा आन्तरिक रिपोर्टहरु भने जापानिजमा नै लेख्नु पर्ने अनिवार्य प्रावधान हुन्छ।

यसका अलावा यी देशहरुले आफनै भाषामा लेखिएका वा पुरै अंग्रेजीमा लेखिए पनि सारांश चाही आफ्नो र अंग्रेजी दुवै भाषामा लेखिएको जर्नलहरु पनि प्रकाशित गर्छन। भूमण्डलीकरणका बाबजुद, यी देशहरुले नयाँ पुस्तालाई आफ्नो देशको भाषामा विज्ञानको समानान्तर जग बसाइरहेकोछ। जुन भाषिक अस्थित्वको लागि पनि अनुकरणियछ।    

यहाँ मननीय पक्ष भनेको यी देशहरुले विज्ञान/प्रविधिको अध्ययन-अध्यापन र अनुसन्धानको लागि अंग्रेजीभाषा मात्र प्रभावकारी हुन्छ भन्ने आम मान्यतालाई तोडेकाछन। आफ्नै भाषामा विज्ञान/प्रविधिको अध्ययन/अध्यापन गर्दा सिकाई बढी प्रभाकारी हुने र नवीनतम ज्ञानको खोज तथा नयाँ आविष्कारमा विद्यार्थीलाई उद्देलित गराउन सकिन्छ भन्ने तथ्य नीतिनिर्माताले शुरुवाती चरणमा नै बुझेको पाइन्छ। फलस्वरूप, विज्ञान तथा प्रविधिलाई आफ्नो भाषामा अध्ययन-अध्यापनको जग बसाले। जसले गर्दा अंग्रेजी भाषाको प्रखरता नभए पनि ठुलो संख्यामा विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा प्राथमिकता साथ लगानी गर्दै अध्ययनको अवसर दिन सके। नयाँ पुस्तालाई आफ्नै भाषाको विज्ञान तथा प्रविधिका शिक्षामा हुर्काए। जुन यति प्रभावकारी भयो कि अहिले अंग्रेजी कमजोर भएपनि यी देशमा प्राज्ञिक तथा प्राविधिक जनशक्तिहरु विज्ञान तथा प्रविधिको केन्द्र मानिएका अमेरिका तथा युरोपका जनशक्तिसग प्रतिस्पर्धामा खरो उत्रिन सकेकाछन। विज्ञान तथा प्रविधिका क्षेत्रमा यी मुलुकहरुले अब्बल छन। सायन्स तथा नेचर जस्ता बहुप्रतिष्ठित जर्नलहरुमा अनुसन्धान लेखहरु उल्लेखीय संख्यामा प्रकाशित हुने गर्छन। यसको थप पुष्टि उत्कृष्ट विश्वविद्यालयहरुको अन्तराष्ट्रिय सुचिमा यी देशका विश्वविद्यालयहरुको बढ्दो संख्या र उक्लदो स्तरले पनि गरेकोछ।

हाम्रोमा भने विज्ञान/प्राविधिक उच्चशिक्षा अध्ययनमा अंग्रेजी अनिवार्य मात्र होइन प्रवेश परीक्षाको मापन कसी पनि बनाइएकोछ। जसले गर्दा मुख्यतः विज्ञान/प्रविधिका क्षेत्रमा अध्ययनमा प्रतिभावान हुदा हुदै पनि अंग्रेजी भाषाको राम्रो दख्खल नभएका विद्यार्थीहरु प्रतिस्पर्धामा पछि पर्छन यहाँ मनन गर्नु पर्ने कुरा के हो भने विज्ञान-प्रविधि-इन्जिनियरिंग-गणितमा राम्रो गर्न सक्ने प्रतिभाहरु अंग्रेजी भाषामा पनि दक्ष हुन्छन भन्ने छैन पंतिकारको आफ्नै अनुभवमा, भक्तपुरको ख्वप कलेजमा +2 अध्यापन गर्दा, हुम्ला, कालिकोटबाट आएका विद्यार्थीहरुको गणित राम्रो हुने तर अंग्रेजीमा पढ्नु/लेख्नु पर्ने भएकाले विज्ञानका विषयहरुमा नतिजा कमजोर हुन्थ्योयसर्थ हाम्रो जस्तो ग्रामिण बाहुल्य मुलुकमा कमजोर अंग्रेजी भाषाको कारण विज्ञान/प्रविधिको अध्ययनबाट कैयौ प्रतिभाहरु विमुख हुनु परेकोछ मोफसलका विद्यार्थीहरुले रोबर्ट, हेलिकप्टर, ड्रोन जस्ता कैयौ प्रविधि सम्बन्धि आविष्कारहरुको प्रोटोटाइप बनाएको खबर पढ्न पाइन्छ राज्यले देशका कुना कन्दरामा रहेका यस्ता प्रतिभावान विद्यार्थीहरुलाई भाषिकबार हटाउँदै विज्ञान/प्रविधिको विकास तथा खोजमा समाहित गराउन आवश्यकछ। यसको लागि आफ्नो भाषामा ज्ञान/विज्ञानको जग बसाल्नु महत्वपुर्ण हुने तथ्य राज्यले बुझ्न जरुरीछ। यसको ज्वलन्त उदाहरण जापान, कोरिया, चीन जस्ता देशहरुले देखाइसकेकाछन्।  

अब राज्यले सोच्ने बेला आएकोछ के अंग्रेजी माध्यमको शिक्षाले विद्यार्थीको सिकाई प्रभावकारी भएकोछ त? विज्ञान तथा प्रविधिको विकासको होडबाजीमा अंग्रेजी माध्यमको शिक्षाबाट हाम्रा विद्यार्थीहरुको त्यस अनुरुपको प्रतिभा प्रस्फुटन हुन सकेको छ त? यथार्थमा अहिले हामीले विज्ञान/प्रविधिका नवीनतम ज्ञानलाई आफ्नो भाषामा आत्मासाथ गर्न नसकेका मात्र होइन हाम्रो सभ्यताको जगमा विकास भएको ज्ञानलाई पनि आधुनिक विज्ञानसग जोड्न पनि चुकेकाछौ । पछिल्लो समयमा अंग्रेजी माध्यमको शिक्षामा आकर्षण झनै बढ्दोछ। जसले आफ्नै जगको वैज्ञानिक खोजमा मात्र होइन भाषाको विकासलाई समेत कुपोषित गरिरहेकोछ। यस अर्थमा हाम्रो जस्तो देशमा अंग्रेजी भाषाको जगमा उभिएको विज्ञान/प्रविधिशिक्षा अमृत कि गुलियो विष हो? भन्ने प्रश्न गर्ने बेला आएकोछ। अबको विज्ञान शिक्षा आफ्नै भाषाको दरिलो जगमा विकासको बाहक र महाविपद्को भरपर्दो समाधान बन्न सक्नुपर्छ। यसबारे राज्यले ठोस कदम चाल्न आवश्यकछ।    

(लेखक; खड्का (twitter @Dhrubakhadka99: जापानको नेसनल इन्स्टिच्युट फर मटेरियलस साइन्समा स्टाफ वैज्ञानिकको रुपमा कार्यरत छन)

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...