Friday, April 14, 2023

डिफेन्स ल्याबको अवधारणा: विज्ञान-प्रविधि विकासको संजीवनी


D. KHADKA
नयाँ पत्रिका: डिफेन्स ल्याब : विज्ञान–प्रविधि विकासको सञ्जीवनी

२१औ शताब्दी आर्टिफिसियल इन्टेलिजेन्सको युग हुदैछ मानव जनशक्तिको ठुलो हिस्सालाई मेसिनले प्रतिस्थापन गर्दैछ स्वच्छ उर्जाको नयाँ विकल्पहरुको द्रुतगतिमा विकास हुदैछ मानव सभ्यता अन्य ग्रहहरूमा विस्तार गर्ने तयारी भइरहेको छ पहिलो विश्व विज्ञान-प्रविधिको वायुपंखी घोडामा गतिशील भइरहदा हामी भने कछुवामा सवार छौ विज्ञान-प्रविधिको जग दरिलो बनाउने चेत हाम्रो नेतृत्वमा अझै आएको छैन् राज्यले समयको गति पक्रिन सकेको छैन् गतिशील विश्वलाई पछ्याउन, राज्य संचालकहरुले चर्चित अमेरिकी सिनेटर मिट रोम्नीको एक प्रसिद्द कथन देशमा अनुसन्धान र इन्नोभेसनको खडेरी लाग्नु भनेको आर्थिक अनिकाल निम्त्याउनु जस्तै हो मनन गर्न अत्यावश्यक छ तर राज्यले विज्ञान-प्रविधिको विकास तथा सदुपयोगमा ठोस पहल नगरेर देशको अर्थतन्त्रमा अनिकाल निम्त्याईरहेको छ युवाशक्तिहरुलाई विदेश पलायन गराएर रेमिट्यान्सले देश चलाउनु भनेको अनिकालमा अन्नको बिउ खानु जस्तै हो त्यसैले निकट भविष्यमा आउन सक्ने आर्थिक संकटको ठोस समाधान विज्ञान-प्रविधिको सदुपयोगमा आधारित आर्थिक उन्नयन नै हो राज्यले युवाशक्ति र इन्नोभेसनलाई आफ्नै माटोमा नयाँ युगसग जोड्न सक्नुपर्छ यस आलेखमा विज्ञान-प्रविधि विकासको वैकल्पिक मार्गबारे वहस गरेकोछु


यस सन्दर्भमा एक प्रसंग उल्लेख गर्न चाहे मटेरियल रिसर्च सोसाइटीको कन्फरेन्स-२०१७ मा एरिजोनाको फिनिक्समा इजरायली मुलका पदार्थ विज्ञानका विख्यात वैज्ञानिक प्रो. डेभिड काहेनसग अन्तरक्रिया गर्ने मौका पाएको थिए। प्रो. काहेनले दुई हप्ता लामो नेपाल भ्रमणमा अन्नपुर्ण पदयात्राको निकै रोचक अनुभव संगालेका रहेछन्। कुराकानीको क्रममा, नेपालको विज्ञान-अनुसन्धानको जमिन बारे उनको जिज्ञासाको छिपछिपे उत्तर दिदै इजरायलको प्रगति पथको बारे प्रतिजिज्ञासा राखे। प्रतिरक्षा प्रणाली र वैज्ञानिक कृषिमा इजरायलले गरेको क्रान्तिको उदाहरण दिदै यसमा रक्षा मन्त्रालय अन्तर्गतको रक्षा अनुसन्धान तथा विकास निर्देशनालय मार्फत अन्तरराष्ट्रिय सहकार्यले अन्य क्षेत्रका वैज्ञानिक-अनुसन्धानको ढोका खोलेको बताए। त्यही सहकार्यको जगमा उभिएको इजरायल, ग्लोबल इन्नोभेसन इन्डेक्सको उत्कृष्ट देशको सुचिमा १६औ स्थानमा छ। विज्ञान-प्रविधिमा उभिएको दरिलो आर्थिक जग भएकै कारणले,  इजरायललाई राजनीतिक अस्थिरता र प्यालेस्टाइनसगको सदाबहार द्वन्दले गाज्दा पनि आर्थिक सवलता कायम रहेकोछ। प्रो. काहेनको प्रतिउत्तर सुनिरहदा नेपालले सैन्य शक्तिको गर्विलो इतिहास सम्झे त्यो बेलाको सामरिक कुटनीतिको सदुपयोग गर्दै डिफेन्स ल्याबको अवधारणा मार्फत विज्ञान-प्रविधिको वृहत्तर विकासमा सहकार्य गरेको भए, सुनको कचौरामा भिख माग्ने स्थिति हुन्न थियो कि भन्ने मनोआभास भइरहयो   

मननीय कुरा के भने, डिफेन्स ल्याब अक्सर रक्षा प्रविधिको विकासमा केन्द्रित हुने भए पनि आधारभूत तथा व्यावहारिक विज्ञानको अनुसन्धान पनि गरिदो रहेछ यस बारे हाम्रो अनुसन्धान समुहमा भिजिटिंग वैज्ञानिकको रुपमा काम गरेका, प्रा. बोब्बी बेक्कर र अमेरिकन नेभी अन्तर्गतको नवल रिसर्च ल्याबोरोटोरीका स्टाफ वैज्ञानिक डा. वूजुन यूनसगको साक्षात्कारबाट केहि जानकारी पाएको थिए संयोगवस, वैज्ञानिक कन्फरेन्समा भाग लिने क्रममा, नेपाली वैज्ञानिकद्वय; डा. तारा ढकाल र डा. सोम दाहालको सहयोगमा, एरिजोना स्टेट विश्वविद्यालयमा अवस्थित डिफेन्स ल्याब भ्रमण गर्ने र केहि बुझ्ने मौका पाएको थिए

खासमा हरेक देशको डिफेन्स विभाग निकै संवेदनसिल हुने भएकाले धेरै कुरा बाहिर आउदैन् चीन, रुस र उत्तर कोरिया जस्ता देशहरुको त झनै गोपनीय हुन्छ वल्ड पपुलेसन रिभ्युको रिपोर्ट अनुसार डिफेन्समा सबैभन्दा बढी खर्च गर्ने देशमा पहिलो नम्बरमा रहेको अमेरिकाले ७सय ५०अर्ब डलर खर्चिने रहेछ  दोश्रो स्थानको चीनको खर्च २सय ३७अर्ब डलर रहेछ चाखलाग्दो तथ्य के भने, शिर्ष दश देशहरुका डिफेन्स खर्च जोड्दा पनि अमेरिकाको खर्च बढी हुने रहेछ त्यसो त अमेरिकाले वैज्ञानिक अनुसन्धानको लागि भनेर डिफेन्स एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी मार्फत मात्र ३.८६ अर्ब  डलर बजेट आर्थिक वर्ष २०२२ खर्च गर्यो यहाँ उल्लेखनीय कुरा के छ भने, विश्वकै शक्तिशाली सेना रहेको अमेरिकाले विज्ञान-प्रविधिको इन्नोभेसनलाई  महत्व दिदै  वायु, थल र जल सेना विभाग अन्तर्गत विशिष्टीकृत केन्द्रीय अनुसन्धान केन्द्रहरु जस्तो कि एयर फोर्स रिसर्च ल्याबोरोटरी, आर्मी रिसर्च ल्याबोरोटोरी, आर्मी इन्जिनियर रिसर्च एण्ड डिभलपमेन्ट सेन्टर अफ द आर्मी कोप्स अफ इन्जिनियर र नाभाल रिसर्च ल्याबोरोटरी  स्थापना गरेकोछ जहाँ अर्धसैनिक नेतृत्व र गैर-सैनिक नागरिकहरु खोज-अनुसन्धानको कर्ममा आवद्द हुन्छन् 

स्मरणीय इतिहास के छ भने, अमेरिकाले सेनाको कमान्डमा सन् १९४१-१९४५ सम्मको वैज्ञानिक जुलियस रोबेर्ट ओपनहाईमरको नेतृत्वमा विश्वविद्यालयका न्युक्लियर वैज्ञानिकहरुको सहकार्यबाट ९करोड डलर (आजको मुल्यमा १.५ अर्ब डलर भन्दा बढी)को अनुसन्धान कोषबाट एटम बमको निर्माण शुरु गरेको थियो विध्वंसको प्रतिक भए तापनि, जापानमा खसालिएको एटम बम, डिफेन्स विभाग-विश्वविद्यालयहरु बिचको सहकार्यको एक चर्चित उदाहरण हो दोश्रो विश्व युद्दको समाप्ति पछि वैज्ञानिकहरुले एटम बमको सिद्दान्तलाई सदुपयोग गर्दै नियन्त्रित उर्जाबाट विद्युत निकाल्ने प्रविधिको विकास गरे जुन प्रविधिले आजका दिनमा विकसित देशहरुको उर्जाको ठुलो हिस्सा पूर्ति गरेकोछ बदलिदो समयसगै, राज्यको स्रोत साधन सदुपयोग गर्ने मुख्य उद्देश्य राखेर देश भित्र वा बाहिर घनिभूत वैज्ञानिक सहकार्यहरु गर्न आवश्यक छ

अनुकरणीय तथ्य के छ भने, अमेरिकाको डिफेन्स विभाग अन्तर्गतका विशिष्टीकृत अनुसन्धान केन्द्रहरुका अलावा  विश्वविद्यालय अन्तर्गत डिफेन्स विभाग फन्डेड अनुसन्धान केन्द्रहरु खोलिएकाछन् जस्तो कि एमआइटीमा डिफेन्स विभागको लिंकन ल्याबोरेटोरी र इन्स्टिच्युट फर सोल्जर न्यानोटेक्नोलोजी, युटा स्टेट विश्वविद्यालयमा मिसाइल डिफेन्स एजेन्सीको स्पेस डायनामिक ल्याबोरेटोरी, हवाई विश्वविद्यालयमा नौसेनाको अप्लाइड रिसर्च ल्याबोरेटोरी जस्ता दर्जन भन्दा बढी विधागत अनुसन्धान केन्द्रहरु खोलिएका छन् बेलायतको डिफेन्स विभागले त शुरुवाती चरणदेखिने नै डिफेन्स क्षेत्रको आधुनिकरण गर्न राडार, सेन्सर, रोबर्ट, सूचना तथा प्रतिरक्षा प्रणाली लगायतका क्षेत्रहरुमा विश्वविद्यालयहरुसग मजबुत सहकार्य गर्दै आएकोछ ठुला तथा विकसित देशहरु जस्तो कि रुस, चीन, भारत, जापान र कोरिया प्रायद्वीप लगायतका देशहरुले डिफेन्स ल्याब कै अवधारण अन्तर्गत रही विज्ञान-प्रविधिको जगमा सुरक्षा प्रविधिको इन्नोभेसनमा ठुलो फड्को मारेका छन्

हाम्रो जमिनी अवस्था

पहिलो विश्वमा वैज्ञानिक-आर्थिक क्रान्तिको ठुलो उभार आइरहेको बेला हाम्रो देशले अदुरदर्शी शासकहरुको स्वार्थ केन्द्रित नजरबन्द झेल्नु पर्यो वि. स. १९२४मा सत्ता समालेका जापानी सम्राट मैजीले युरोपसग सहकार्य गरेर विज्ञान-प्रविधिको जगमा देशको कायापलटको शुरुवात गर्दा, तत्कालिन  नेपाली शासकहरुले विकसित देशहरुसग बनेको दौत्य सम्बन्ध मुख्यतः आफ्नो सत्ता टिकाउन दुरुपयोग गरे बेलायती महारानीसग शिकार खेल्न र बेलायती रंगिन दुनियामा मस्त थिए किम्तिलो दौत्य सम्बन्धलाई देशको वैज्ञानिक-उन्नयनमा कहिल्यै चासो दिएनन् जसकारण विज्ञान-प्रविधिको विकासको दरिलो सहकार्यको जगमा आर्थिक छलांग मारेका मुलुकहरुको अघोषित कमारो हुन विवश छौ 

आजका दिन सम्म पनि विज्ञान-प्रविधिको विकास भाषणमा सिमित छ कलुषित राजनीतिको कालो बादल फाट्न अझै एक दशक चुकाउनु पर्ने  देखिन्छ त्यसैले अबको बाटो भनेको राजनीतिक चलखेल नहुने राज्यको स्थायी संयन्त्र मार्फत विज्ञान-प्रविधि विकासमा ठोस पहल गर्नु नै हो  सुरक्षा निकायले विद्यालय शिक्षा, स्टाफ कलेज, मेडिकल तथा अन्य अन्तर-सम्बन्धित प्राविधिक कलेजहरु संचालन गरेकाछन् नेपाली सेनाले आफ्नो प्राविधिक क्षमता विकास तथा अध्ययन-अनुसन्धानको क्षेत्रमा गरिरहेको प्राज्ञिक गतिविधिलाई थप गतिशील बनाउन सकिन्छ 

खुसीको कुरा, २०७७ साल  पौष २७ गते  नेपाली सेनाले नेपालका राष्ट्निर्माता पृथ्वीनारायण शाहको २९९औ जन्मोत्सव तथा राष्ट्रिय एकता दिवसको दिन पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरेको रहेछ नेपाली सेनाको सैन्य प्रशिक्षण र सिद्धान्त महानिर्देशनालयले मेजर जनरल प्रमुख सम्पादक रहेको युनिटी जर्नलमा सुरक्षा तथा सामरिक महत्वका विविध क्षेत्रहरुका गुणस्तरीय अनुसन्धान लेखहरू वार्षिक प्रकाशित गर्ने रहेछ यसले सैन्य संरचना भित्र रहेको प्राज्ञिक छवी उच्चिदै गरेको देखाउछ

तर दुखको कुरा, हाम्रा विश्वविद्यालयहरु राजनीतिक भागबन्डा र नियुक्तिका अखडा बनाइएका छन् विज्ञान-प्रविधि केन्द्रित अनुसन्धान केन्द्रहरु वर्षौ देखि सुस्ताएर बसेका छन् त्यसैले विज्ञान-प्रविधिको विकासमा नयाँ रचनात्मक कदम आवश्यकछ 

डिफेन्स ल्याब: विज्ञान-प्रविधिको  गोरेटो  

लामो संक्रमणकालीन अन्योलका बिच राजनीतिक रुपमा अक्षुण रहेको हाम्रो नेपाली सेनाले विकसित देशका रक्षा मन्त्रालयले डिफेन्स ल्याब मार्फत विज्ञान-प्रविधिको विकासको नयाँ-गोरेटो कोर्न सक्छ हामी सैन्य महाशक्ति भएका देश; भारत र चीनको बिचमा अवस्थित भएकाले हाम्रो सैन्य संख्या र शक्तिको जमिनी पुनर्संरचनाको गर्नु बुद्दिमान हुन्छ अहिलेको संख्यालाई सिमित गरेर गुणात्मक वृद्धिमा जोड दिनुपर्छ सैन्य संरचनाको प्राविधिक कमाण्डमा रहने गरि विषयगत क्षेत्रहरुमा विज्ञान-प्रविधिको अनुसन्धान केन्द्रहरु बनाउन ठोस कार्यनीति ल्याउन आवश्यक छ  

सैनिक संरचना अन्तर्गत रहने गरि अर्ध वा गैर-सैनिक प्रकृतिका अनुसन्धान केन्द्र बनाउदा राजीतिक हस्तक्षेप मुक्त हुन्छन् सैन्य कुटनीतिक मार्फत प्रतिरक्षा प्रणाली, महामारी नियन्त्रण र प्राकृतिक प्रकोप न्यूनीकरणको क्षेत्रमा विशिष्टीकृत अनुसन्धान केन्द्रहरुको स्थापनामा संयुक्त राष्ट्र संघ तथा अन्य विकसित देशहरुसग सहकार्य गर्न सकिन्छ शुरुवाती चरणमा विकसित मुलुक जस्तै विश्वविद्यालयको सम्बन्धनमा डिफेन्स फन्डेड अनुसन्धानकेन्द्र खोलेर वैज्ञानिक अनुसन्धानमा सेनाको कल्याणकारी कोषलाई सदुपयोग गर्न सकिन्छ हाल सेनाले संचालन गर्दै आएको मेडिकल कलेजलाई स्वास्थ्य विज्ञानको अनुसन्धान केन्द्रको रुपमा विकास गर्नै पर्छ सेनाको प्राविधिक विभाग अन्तर्गत विज्ञान-प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्न सकिन्छ

डिफेन्स ल्याबको अवधारणा अन्तर्गत विज्ञान-प्रविधि विकासमा हाम्रो उत्कृष्ट जनशक्तिलाई सदुपयोग गर्ने हाम्रो सन्दर्भमा एक उत्कृष्ट विकल्प हो त्यसको लागि, राज्यले राजनीतिक तथा प्रशासनिक बोझका नयाँ विश्वविद्यालयहरु भन्दा पनि क्षेत्रगत अनुसन्धान केन्द्रहरु स्थापना गर्न आवश्यक छ शुरुवाती चरणमा सैन्य संरचना अन्तर्गत डिफेन्स ल्याबको छानामुनि  देश कै माटोमा अनुसन्धान र इन्नोभेसनको अंकुरण गराउन सकिन्छ प्रतिरक्षा प्रणालीको विकास मार्फत रचनात्मक सहकार्य गर्दै प्रविधि विकास र आर्थिक क्रान्तिको गतिशील सेतुहरु बनाउन राज्यले ठोस कदम चालोस् जसबाट विज्ञान-प्रविधिको जग दरिलो बनाउदै राष्ट्र्को आर्थिक उन्नयनको संजिवनी बनाउन सकियोस्

नयाँ पत्रिका: डिफेन्स ल्याब : विज्ञान–प्रविधि विकासको सञ्जीवनी

No comments:

Post a Comment

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...