Monday, April 16, 2018

आमा कविता

यस कविताका रचयिता श्री कृष्णप्रसाद भट्टराई हुनुहुन्छ 
मलाई जानकारी भए सम्म उहा प्रम तथा सन्त नेता कृष्णप्रसाद भट्टराई होइन

प्रस्तुत कविता मलाई मनपर्ने थोरै कविता मध्ये एक हो
मलाई सम्झना भएसम्म यो कविता २०४६/२०४७ साल तिर ९/१० को नेपाली पाठ्यपुस्तकमा  समावेस गरिएको थियो मेरा काकाहरुको किताबबाट पढेको थिए 
१०/१० वर्षमा पाठ्यपुस्तक परिवर्तन हुने  नीति  भएकाले होला पछी म SLC दिदा  सम्म  परिवर्तन गरिएको पाठ्यपुस्तकमा यो कविता समावेस  गरिएको थिएन
यस्तो मार्मिक कविता अहिलेको सन्दर्भमा नेपाली पाठ्यपुस्तकमा पुन: समावेस गर्दा उपयुग्त हुन्छ जस्तो लाग्छ


झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।
जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।
कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्

तातेताते भनी मीठो तोते बोली सिकाउँछिन् ।
राखेर काखमा नानी कहिले गीत गाउँछिन्
बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।
नानी उठ्छ भनी राति अल्पअल्प निदाउँने
नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने ।
नानीकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्
आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।
‘को खा को खा’ भनी खाना नानीलाई खुवाउँछिन्
बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।
मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि
बचरा गुँड छोडेर टाढाटाढा गए पनि ।
आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि
सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि ।
तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव
आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब !
जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।
धर्तीमै छ सबै चीज खोजे मिल्छ घरीघरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी !!!!!!


संकलक: ध्रुब बी. खड्का, जापान, चुकुबा, २०१८/०४/१६; २०७५/०१/०३ BS (माता तिर्थ औशी)
नोट: यो कवितासग मेरो आफ्नै कथा ब्याथा जोडिएको छ त्यो पछी लेखौला कुनै सन्दर्भमा  

No comments:

Post a Comment

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...