Saturday, February 20, 2021

दीक्षान्त र विद्याभूषण पदकको औचित्य

ध्रुव बी. खड्का: लेख प्रकासन:

एक्काइसौ शताब्दीमा कुनै पनि देशको सामर्थ्य त्यो देशको विश्वविद्यालयहरुका गुणस्तरसग जोडिएको देखिन्छ। जस्तो कि, टाइम्स म्याक्जिनले निकालेको विश्वका विश्वविद्यालयहरुको गुणस्तरको श्रेणीको दश उत्कृष्ट मध्य सात ओटा विश्वविश्वविद्यालय अमेरिकाका छन् भने उत्कृष्ट पचास भित्र अमेरिकाका तेइस पर्दा एसियाका मात्र छ ओटा (चीन-३,सिंगापुर-२, जापान-१) विश्वविश्वविद्यालयहरु अटाएका छन्। यसले वर्तमान विश्वको वौदिक तथा आर्थिक परिदृश्यलाई पनि परावर्तित गर्छ। विश्वविश्वविद्यालय नै अनुसन्धान तथा इन्नोभेसनको उर्वर भुमि हुने भएकाले विश्वविद्यालयको गुणस्तरसगै देशको बौदिक तथा आर्थिक उचाई निर्धारण हुने गर्छ।
हाम्रो देशको ठुलो तथा पुरानो त्रिवि भने आठसय भन्दा तल रहेकोछ। यसले देशको आर्थिक दुरावस्थालाइ पनि प्रतिविम्बित गर्छ। विकसित देशमा विश्वविद्यालयका अनुसन्धानहरुले नै ज्ञान-विज्ञान/प्रविधिकको अभुतपुर्व विकासमा योगदान गरेपनि तर हाम्रोमा भने स्थिति बिल्कुल फरक छहाम्रा विश्वविद्यालयहरु मुख्यतः उच्च शिक्षाको डिग्री दिने शिक्षालयमा सिमित छन प्राज्ञिक मन्थन, नवीनतम ज्ञान उत्खनन् तथा अन्वेषणको केन्द्र हुन सकेका छैनन विश्वविद्यालय गैर-प्राज्ञिक गतिविधिको दुष्चक्रले घेरिएकोछ। वि.स.२०१६ मा त्रिवि स्थापना गरेर उच्चशिक्षाको जग बसालेको ६-दशकपार गरिसक्दा पनि विश्वविद्यालयको मर्म अनुरुपको गुणात्मक गतिशिलता ल्याउन सकिएको छैन। हाल संचालनमा रहेका निजि तथा क्षेत्रीय विश्वविद्यालयहरुमा पनि अध्यापन तथा मुल्यांकनमा गुणात्मक भिन्नता खासै पाइदैन।

 समय सापेक्ष सुधारको नाममा पाठ्यक्रम परिमार्जन, सेमेस्टर प्रणाली तथा ग्रेडीङ प्रणाली लागु गरिए पनि अध्ययन-अध्यापन तथा मूल्यांकन पद्दतिमा रचनात्मकता छैन। आफुले पढेको जानेको कुरामा व्यावहारिक अनुभव लिन केहि प्राविधिक विषयहरु बाहेक अन्य संकायका विद्यार्थीहरुले इन्टर्न गर्नुपर्ने व्यवस्था छैन। पहिलो विश्वमा अनुसन्धान तथा इन्टर्नलाई सिकाईको अभिन्न महत्वपुर्ण पक्ष मानिए पनि हाम्रोमा पुरानै तरिकाछ। उच्च शिक्षाको हार्डवेयर मात्र फेरीए त्यसलाई चलाउने सफ्टवेयर उही पुरानो समय गुज्रेको यथावत नै छ। अहिलेको अवस्थाले विश्वविद्यालयको आयामलाई नै व्यंग्य गरिरहेको छ। केहि अपवाद बाहेक, विश्वविद्यालयले प्राध्यापकहरुलाई कर्मकाण्डीय पण्डित जस्तो बनाएको छ भने विद्यार्थीहरु वेद पाठक जस्तो भएकाछन। प्राध्यापक बेलगाम छन।

यस सन्दर्भमा त्रिवि किर्तिपुरबाट स्नाकोत्तर पढ्दा तथा करिब आधा दशक पहिले विकसित देशको एक राष्ट्रिय विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रमको अनुभव यहाँ उल्लेख गर्न सान्दर्भिकछ। पंतिकारलाई नौलो लागेको कुरा, त्यहाँ स्नातकतह माथिको सैदान्तिक कक्षामा विभागको निर्देशिका पालना गर्दै विषय/पाठ्यक्रम प्राध्यापक आफैले निर्धारण गर्ने व्यावस्था। अझ रोचक कुरा, प्राध्यापकहरुले राष्ट्रिय/अन्तराष्ट्रिय कम्पनिहरूबाट अनुसन्धान कोष जुटाउन अनुसन्धानका नवीनतम खाका बनाउन आहोरात्र तल्लिन हुन्छन। त्यहाँको प्राध्यापकहरुको अनुसन्धानमा लगाब र विद्यावारिधिका विद्यार्थीहरुको अनुसन्धानमा असिमित खटाइ सहितको त्यो प्राज्ञिक वातावरणले ज्ञान विज्ञानको क्षेत्रमा नयाँआयाम खोजिरहेको आभास हुन्छ। अझ महत्वपूर्ण पक्ष, प्राध्यापकको प्राज्ञिक उचाई तथा पारिश्रमिक स्केल प्रकाशित अनुसन्धान लेखको गुणात्मकता तथा अनुसन्धान कोषको प्रचुरताको आधारमा हुने गर्दछ।

हाम्रो त्रिवि र अन्य विश्वस्तरीय भनिएका विश्वविद्यालयहरुमा मुख्यतः विषयगत पाठ्यक्रममा भन्दा पनि सिकाई र मुल्यांकन पद्दतिमा धेरै फरक रहेको देखिन्छ। विकशित देशका विश्वविद्यालयहरुमा अनुसन्धानलाई केन्द्रमा राखेर अध्ययन-अध्यापन-मूल्यांकन गरिन्छ। विश्वविद्यालयले विभिन्न तहका विषयगत तथा संकायगत उत्कृष्ट वर्ष विद्यार्थी पदक जस्ता अन्य धेरै प्रतिष्ठित पदकहरु पूर्णत: अनुसन्धानात्मक लेखको आधारमा प्रदान गरेको पाइन्छ।

यस अर्थमा विश्वविद्यालयले संकाय/विषयगत उत्कृष्ट अङ्कका आधारमा प्रदान गर्ने दीक्षान्त पदक अहिलेको परिपेक्ष्यमा असान्दर्भिक मात्र होइन विश्वविद्यालय शिक्षाको मर्म विपरितछ। उदाहरणका लागि त्रिविले ४६औ दीक्षान्त समारोहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई ३१ओटा पदक तथा पुरस्कारहरु प्रदान गरेकोछ। विद्यार्थीहरुलाई प्रोत्साहन गर्नु राम्रो हो। तर उत्कृष्टताको मापन भने पुरातन परीक्षा प्रणालीको प्राप्तांकको आधार गरिन्छ। यसले विद्यार्थीलाई प्राज्ञिक प्रतिस्पर्धाबाट विमुख गरेकोछ। पाठ्यपुस्तकमा दिइएको विषयवस्तु घोकेर हुबहु लेख्न सक्नेले उच्च अंक प्राप्त गर्दछन। उत्कृष्टताको मानक घोकन्ते शिक्षालाई बनाइरहेकाछौ। यसलाई पुनर्विचार गर्नु अपरिहार्य भइसकेकोछ। अबका दिनमा कम्तिमा विश्वविद्यालयका विद्यार्थीहरुको उत्कृष्टता नवीनतम ज्ञानको खोज तथा अनुसन्धानात्मक लेखको गुणस्तरका आधारमा हुनुपर्छ। तब मात्र नयाँ पुस्ताको प्रतिस्पर्धा अंकमा भन्दा अनुसन्धान/इन्नोभेसनमा केन्द्रित हुन्छ। दीक्षान्त पदकको ओज बढ्छ।

अर्को दुखद पक्ष, हाम्रा विश्वविद्यालयहरुले मात्र होइन राज्यले उत्कृष्ट विद्यार्थीहरुलाई प्रदान गर्ने पदक तथा सम्मान पनि अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने खालको छैन जस्तो कि, राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकारले स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न शैक्षिक उपाधि हासिल गरेका उत्कृष्ट नेपाली विद्यार्थीहरुलाई नेपाल विद्याभुषण पदक प्रदान गर्ने गर्दछ। ‘क’ श्रेणीको पदक विद्यावारिधि गरेका नेपालीहरुलाई दिइन्छ भने ‘ख’ र ‘ग’ श्रेणीका पदकहरु परीक्षाको प्राप्तांकको आधारमा दिने गरिन्छ। समयको गतिशिलता सगै यसलाई पनि रचनात्मक बनाउन आवश्यकछ।  

जस्तोकि, नेपाल विद्याभुषण ‘क’ पदकलाई पुनारावलोकन गर्नु उचित हुन्छ। हाम्रोमा विद्यावारिधि गर्ने सबैलाई पुरस्कृत गर्ने गरिएकोछ। यसले विद्यावारिधिको सोधको गुणस्तरतालाई गौण बनाई दिएकोछ। विकसित देशमा विद्यावारिधिको डिग्री भन्दा पनि सोध तथा अनुसन्धानको गहिराइको उच्च मूल्यांकनको गर्ने गरिन्छ। अन्तराष्ट्रीय प्रचलन अनुसार, विद्यावारिधिमा गरेको सोधको गुणस्तरता वा विद्यावारिधि पछिको गरेको अनुसन्धानको गुणस्तरताको आधारमा उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई मात्र सम्बन्धित शिक्षण संस्था वा राज्यले सम्मान गर्ने गरेको पाइन्छ।

बिडम्बना यो छ कि, विदेशबाट विद्यावारिधि गरेकाहरु अन्तराष्ट्रिय माहोल बारे साक्षात्कार भएर पनि डिग्री लिएकै आधारमा प्रदान गरिने नेपाल विद्याभुषण ‘क’ पदक लिन लाम लागेका हुन्छन। विद्यावारिधि गरेका जनशक्ति नगन्य भएको शुरुवाती समयमा महेन्द्र/नेपाल विद्याभुषण पदकले सम्मान गर्नु सान्दर्भिक भएपनि अहिलेको पनि त्यसैलाई निरन्तरता दिनु कुनै कोणबाट तर्क संगत छैन। नेपाल विद्याभुषण ‘क’ पदकलाई समयको गतिशिलता सगै रचनात्मक तथा प्रतिस्पर्धी बनाउन जरुरीछ। पदक भन्दा पनि अनुसन्धान दक्षता/अनुसन्धान योजनाको मूल्यांकनको आधारमा विद्यावारिधि गरेका युवा अध्येता मध्येबाट विषयगत प्रपोजलहरुलाई छनौट गरि अनुसन्धान कोषको व्यवस्था गर्न सके बढी प्रभावकारी हुन सक्छ।  

अन्तमा, अनुसन्धान सहितको ज्ञानको महत्व बारे महान वैज्ञानिक आइन्स्टाइनले भनेका छन कुनै पनि व्याक्तिमा रहेको ज्ञान भन्दा ज्ञानको प्रसोधन सहितको कल्पनाशिलता महत्वपूर्ण हुन्छ। यस अर्थमा विश्वविद्यालय शिक्षा ज्ञान परिष्कृत गर्ने तपोभुमिको केन्द्र पनि हो। कोरा ज्ञानको जानकारी राख्ने भन्दा पनि ज्ञानको प्रयोग तथा प्रसोधन गरेर थप सवल बनाउने तथा नवीनतम आयाम थप्ने जनशक्ति विकास अहिलेको माग हो। जुन हाम्रो विश्वविद्यालयमा लागु गर्न सकिएको छैन। अब गुरुकुलिय मनोविज्ञानलाई तोड्नुपर्छ। त्यसको लागी  हाम्रो शैक्षिक प्रणालीलाई ज्ञान तथा सुचनाको संग्रहमा भन्दा पनि ज्ञानको गुणात्मक प्रयोग तथा प्रसोधनमा केन्द्रित गर्न अत्यावश्यकछ। शैक्षिक उत्कृष्टताको मापन कोरा प्राप्तांकको आधारमा गर्ने आम बुझाइमा नयाँ चेत भर्न जिम्मेवार पक्षले बेलैमा सोचोस। नत्र अहिलेको तरिकाले, विश्वविद्यालय तथा राष्ट्रले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनको लागि दिने गरेको स्वर्ण पदक वा नेपाल विद्याभुषण पदक औचित्यहीन हुने निश्चितछ।  

(लेखक; खड्का (twitter @Dhrubakhadka99): जापानको नेसनल इन्स्टिच्युट फर मटेरियलस साइन्समा स्टाफ वैज्ञानिकको रुपमा कार्यरत छन) 

No comments:

Post a Comment

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...