विद्यालय शिक्षाले व्यहोरेको बेथितिको (नयाँपत्रिकामा प्रकाशित: 2023-10-03)
अरू त टाढाको कुरा, राज्यले आमसाक्षरताको सहज लक्ष्यसमेत प्राप्त गर्न सकेको छैन । पञ्चायतको तीन दशकमा ३० प्रतिशत नकटेको साक्षरता, प्रजातन्त्र पुनप्र्राप्तिको तीन दशकपछि पनि ७१.१५ प्रतिशत मात्र छ । जब कि साक्षरताकै लागि भनेर सरकारले प्रौढ शिक्षाका नाममा वैदेशिक ऋण तथा दाताको सहयोगमार्फत करोडौँ खर्च गरिसकेको छ । ठोस खाका बनाएर काम गर्ने हो भने स्थानीय जनशक्ति सदुपयोग गरेर न्यूनतम बजेटमा बढीमा पाँच वर्षभित्रै देशलाई पूर्ण साक्षर र १० वर्षभित्र देशको ९५ प्रतिशत जनसंख्यालाई प्राथमिक तह स्तरको शिक्षित बनाउन सकिन्छ । पछिल्लो समयमा त झन् डिजिटल साक्षरताको पनि आवश्यकता भइसकेको छ । यावत् अकर्मण्यतामा सरकारका जिम्मेवार पक्षको काम गराइको निम्नस्तर प्रतिबिम्बित हुन्छ ।
विगत तीन दशकमा साक्षरताको सामान्य लक्ष्यसमेत पूरा गर्न नसक्ने नेतृत्वको यही काम गराइले समग्र शिक्षालाई देश विकासको मूलप्रवाहमा जोड्ने अपेक्षा दिवास्वप्न मात्र हो । शिक्षानीतिको फितलो कार्यान्वयनका कारण उच्च माविपछि अहिले लाखौँको संख्यामा विदेशमा पढ्न जाने विद्यार्थीको लार्को लागेको छ । सामान्य नागरिकका सन्तान मात्र होइन, देश बनाउने जिम्मा लिएर बसेका व्यक्तिले नै देशमा आफ्ना सन्तानको भविष्य सुरक्षित देख्न छाडिसकेका छन् ।
विद्यालय शिक्षा सुधारमा दलमा आबद्ध शिक्षक र राजनीतिमा आबद्ध निजी विद्यालयका सञ्चालकको स्वार्थ तगारो बनेको छ । देशका कर्णाधारको ‘इन्जिनियरिङ’ गर्ने आधारभूत संस्था धराशयी हुनुको प्रमुख कारण शिक्षा क्षेत्रमा दशकौँदेखि भएको चरम राजनीतिक हस्तक्षेप नै हो । शिक्षा क्षेत्र बेथितिको दुश्चक्रमा फस्नुको अर्को कारण हो, शिक्षा सुधारका लागि विज्ञहरूले तयार गरेका अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्राथमिकता नदिनु । नीति, नियम, कानुन जतिसुकै उत्कृष्ट भए पनि त्यसअनुरूप काम भने हुन सकेन । बेथितिको चाङ पन्छाउने भनिएको विद्यालय शिक्षा विधेयक– ०८० को कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण हुने संकेत अहिल्यै आइसकेको छ ।
शिक्षा सेवा आयोगले नियमित पदपूर्ति नगर्दा राष्ट्रिय प्रतिस्पर्धाविना राहत, निजी स्रोत, दरबन्दीजस्ता अनेकौँ नाममा शिक्षकको भर्ती गरियो । विद्यालयमा कमजोर जनशक्तिले प्रश्रय पायो । यसले विद्यालयमा कलुषित राजनीतिको जरा गाड्न मात्र सहयोग गरेन, सार्वजनिक विद्यालयको गुणस्तर नै धराशायी बनायो ।
शिक्षा क्षेत्रको संस्थागत विकास र कार्यान्वयन :
शिक्षा क्षेत्रको संस्थागत विकासको सुरुवात विसं २०११ मा अमेरिकी शिक्षाविद डा. ह्युग बी उड सल्लाहकार रहेको राष्ट्रिय शिक्षा आयोगको सिफारिसबाट भएको थियो । निकै मिहिन अध्ययन गरेर तयार पारिएको भनेको त्यो खाका शिक्षा क्षेत्रमार्फत आधुनिक युग सुरु गर्ने पहिलो ‘ब्लु प्रिन्ट’ थियो । विश्व परिवेश नियाल्ने हो भने दक्षिण कोरिया, चीन, सिंगापुर, मलेसिया, इजरायल, गल्फ मुलुकलगायत दर्जनौँ विकसित देशले विकासको जग दोस्रो विश्वयुद्धको अन्त्यसँगै विसं १९९० को दशकदेखि विसं ०४० को दशकमा बसाएको देखिन्छ । अपवादबाहेक सबै देशमा आधुनिक शिक्षाको दरिलो जग नै आर्थिक उन्नतिको कडी रहेको छ । यस अर्थमा पञ्चायत काल विश्व–विकासको स्वर्णकाल थियो । सुरुवाती समय भएकाले शिक्षा–उद्योग–यातायात क्षेत्रमा विश्व माहोलको लहरमा केही काम भए पनि नेपालले आधुनिक युगको वेगलाई पक्रन नसकेकै हो । पञ्चायतको समयमा विद्यालय, प्राविधिक शिक्षालय तथा विश्वविद्यालय स्थापित भए पनि आधुनिक युगको जग बसाल्नुपर्ने गुणस्तरको मानक भने टिठलाग्दो थियो । दुःखको कुरा, पूर्ण लोकतन्त्रको तीन दशक बितिसक्दा पनि डा. उड सम्मिलित आयोगले सात दशकअघि खनिदिएको शिक्षाको जग अझै पनि व्यवस्थित र गुणस्तरीयÞ शिक्षा पुनः निर्माणका लागि आन्तरिक संघर्ष गरिरहेको छ । यसबीच दर्जनौँ आयोगका अध्ययन प्रतिवेदनमा समयसापेक्ष खाका कोरिएका भए पनि त्यसलाई शिक्षा मन्त्रालयको दराजमा थन्क्याएर राखियो ।
०४६ को परिवर्तनपछि पनि विद्यालय शिक्षालाई नै केन्द्रमा राखेर ०५८ मा विद्यालय शिक्षाको प्रस्तावित कार्यनीति तथा कार्ययोजनाको अवधारणा पत्र र ०६५ मा विद्यालय शिक्षाका क्षेत्रमा उठेका विभिन्न समस्या समाधानका खाकासहित प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनका जनपक्षीय सुझाब कुनै पनि कार्यान्वयन गरिएनन् । विद्यालय शिक्षालाई राजनीति र व्यावसायिक चंगुलबाट बाहिर निकाल्नुुपर्ने आमआवाज दशकौँदेखि उठे पनि राज्य फड्के किनाराको साक्षी बनेर बसिरहेको छ । लोक सेवा आयोगले निजामती सेवामा जस्तो शिक्षा क्षेत्रका जनशक्तिको नियमित पदपूर्ति नगर्दा राष्ट्रिय प्रतिस्पर्धाविना राहत, निजी स्रोत, दरबन्दीजस्ता अनेकौँ उपनाममा शिक्षकको भर्ती गरियो । विद्यालयमा कमजोर जनशक्तिले प्रश्रय पायो । जसले विद्यालयमा कलुषित राजनीतिको जरा गाड्न सहयोग मात्र गरेन, सार्वजनिक विद्यालयको गुणस्तर नै धराशयी बनायो । फलस्वरूप निजी विद्यालयको शिक्षाको बजार विस्तार यति द्रुतगतिमा भयो कि विद्यालय शिक्षा व्यावसायिक दुश्चक्रमा फस्यो ।
अर्को सन्दर्भ भने तलबको हो । विदेशमा शिक्षकहरुको तलब अन्य सरकारी पेसा भन्दा खासै बढी हुदैन् । तर शिक्षकहरुको आचारसंगीता अन्य पेशा भन्दा कडा हुने भएकाले सरकारी सुविधा-सामाजिक मर्यादा भने निकै उच्च रहेको हुन्छ। नेपाली शिक्षक तथा कर्मचारीको तलबमा एक रुपता ल्याउन आवश्यक छ । तर नेपालमा हल्ला गरिए जस्तो कम हो जस्तो लाग्दैन्। तलब भनेको सापेक्ष कुरा हो। विदेशको महंगी र खर्चलाई आधार मान्ने हो भने लगभग हाम्रो अहिलेको स्थिति उस्तै हुन्छ। विदेशमा शिक्षक तथा कर्मचारीहरु पैसा कमाउन भन्दा पनि सेवा-रोजगारी तथा जीविकोपार्जनको हेतुले आवद्द भएको पाइन्छ। एकाध बाहेक आर्थिक उन्नति गर्न चहानेहरु व्यापार-व्यावसाय तथा निजि कम्पनीको क्षेत्रमा काम गर्छन। वार्षिक करोड बढी तलब हुनेले पनि नेपालका शिक्षक/कर्मचारीहरु जस्तो ५-७ वर्षमा घर-जग्गा जोड्ने असम्भव प्राय हुन्छ। अधिकांशले घर-गाढीहरु १५-२० वर्षको सहुलियत ऋणमा लिएका हुन्छन्। विदेशमा निजि स्कुल तथा विश्वविद्यालय पढाउन निकै महँगो हुने भएकाले निकै राम्रो आर्थिक स्थिति राम्रो भएकाले मात्र निजीमा पढाउने गरेको पाइन्छ। यस अर्थमा हाम्रो आर्थिक पक्षलाई हेर्ने हो भने शिक्षक/कर्मचारीहरुले रोइलो गर्नु त्यति तार्किक देखिदैन।
(कार्की वासेदा विश्वविद्यालयमा विकासशील देशको शिक्षानीतिबारे विद्यावारिधि तहकी शोधार्थी हुन् भने खड्का पदार्थ विज्ञानका अनुसन्धानकर्ता हुन्)

No comments:
Post a Comment