नेपालको प्रजातान्त्रिक आन्दोलन सगै सुरु भएको नेपालको विद्यार्थी आन्दोलनका शुरुताकाका नेतृत्व कर्ताहरु अहिले सबैजसो प्रमुख पार्टीको केन्द्रीय नेतृत्व रहेर पार्टी र राष्ट्रको बागडोरको लगाम लिइ सकेकाछन्। निरङ्कुश राणा शासन, पंचायती व्यवस्था, संवैधानिक राजतन्त्र हुदै संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा नेपालको विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेकोमा कसैको दुइमत छैन। मुख्यतः पंचायतकालीन पार्टी प्रतिबन्धित भएको समयमा, स्ववियुको भूमिकाको जुन औचित्य थियो अहिलेको राजनीतिक व्यवस्थामा त्यो भूमिकामा विभिन्न विचार/आदर्श बोकेका जनतामा मजबुत संगठन भएका राजनीतिक पार्टीहरु तथा जनवर्गीय संगठनहरु छन्। अहिलेका विद्यार्थी संगठनहरु राजनीतिक अभिष्ट पुरा गर्ने पार्टीका स्वार्थका कारिन्दा जस्ता भएकाछन्।
विश्वविद्यालय जस्तो सभ्य र उच्च प्राज्ञिकता भएको संस्थामा राजनीतिकदल निकट विद्यार्थी संगठनहरुले गर्ने तोड फोड, आगजनी, गुन्डागर्दी जस्ता अराजक तथा अमर्यादित क्रियाकलापले शैक्षिक वातावरण दुषित मात्र पारेको छैन्, विश्वविद्यालयको गरिमालाइ गिराएको छ। धेरै जसो क्याम्पसहरुमा निर्वाचन ताका अराजकता यति बढ्छ कि स्वय विद्यार्थीहरुनै असुरक्षित हुन्छन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको झोकमा होस्टेलमा मापसे गरि राती आएर पढिरहेको विद्यार्थीलाई कुटपिट गरि आतंकित बनाएको, जबर्जस्ती अमुक पार्टीको झन्डा बोकाएको, आगजनी गरेको, गैर-शैक्षिक मागमा क्याम्पस बन्द गराएको तितो अनुभवसग पंतिकार स्वयम साक्षातकार छ। स्ववियुको निर्वाचनको पुर्वसन्ध्यामा पनि विभिन्न अंगिक क्याम्पसमा दल निकट विद्यार्थी संगठनहरूले यो र त्यो बहानामा स्वार्थ केन्द्रित गैर-शैक्षिक मागको नाममा गरेका तालाबन्दि, तोडफोड तथा आगजानी जस्ता अराजक गतिविधिहरु हुने गर्दछन्। स्ववियुको निरन्तरताले विश्वविद्यालय अध्यान अनुसन्धान हब भन्दा पनि राजनीतिक अराजकता, गुन्डागर्दीको नर्सरी बनिरहेको जस्तो देखिन्छ। यसले देशको शैक्षिक क्षेत्रको लागि प्रतिउत्पादक हुने यस्ता गतिविधिको मुख्य कारक स्ववियुको औचित्य छैन भन्ने मतलाई पुष्टि गर्छ।
विश्वविद्यालयमा स्ववियुको भूमिका बारेमा पार्टीका नेताहरुले पुरानो रटान अझै छोडेका छैनन्। स्ववियु निर्वाचनको प्रचारमा नेताहरुको बहस सुन्दा लाग्छ यिनीहरु राजनीतिक दलको भाषा बोलिरहेकाछन्। हाम्रो संगठनले स्ववियु निर्वाचन जित्यो भने विश्वविद्यालयको गुणस्तर सुधार्छौ, शैक्षिक वातावरण राम्रो बनाउछौ, दक्ष जनशक्ति निर्माणमा पहल गर्छौ। रोजगारीको ग्यारेन्टी गर्छौ भन्नु जस्तो पारदर्शी झुटको फुलिन्दा अर्को हुन सक्दैन्। किनकी यी कुराहरु विश्वविद्यालयको कुशल नेतृत्व, समय सापेक्ष शैक्षिक नीति, दक्ष प्राध्यापक र प्रतिस्पर्धी प्राज्ञिक वातावरणको मुख्य भूमिका हुन्छ नकी विश्वविद्यालयमा पढ्दै गरेका वा पटके भर्ना गर्दै पालो कुरिरहेका राजनीतिकदल आबद्द झोले विद्यार्थीहरुको संगठनको। एक चर्चित विद्यार्थी नेताले स्ववियुको सन्दर्भमा एक क्याम्पसको प्रांगण राखेको विचार सुन्दा लाग्छ यो स्ववियु निर्वाचन नभएर शैक्षिक संस्थामा हुने पार्टीगत निर्वाचन जस्तो हुन गइरहेकोछ। उनि जस्तो युवापुस्ताका कपाल फुलिसकेका नेताले स्ववियुलाइ अझै पनि लोकतान्त्रिक अभ्याससग जोडेर पार्टीको मुखपत्र बक्ने विंगको रुपमा देखिरहेका छन्। शैक्षिक संस्थालाइ राजनीतिक गतिविधिबाट टाढा राख्ने एजेन्डा अझै बनि सकिको छैन्। उनीहरु भन्ने गर्छन कि स्ववियुको भूमिका विश्वविद्यालयको मर्यादा कायम गर्न, विद्यार्थीको सृजनात्मक र रचनात्मक विकास गर्न हुनुपर्छ। विद्यार्थी नेताहरुले आफ्नो राजनीतिक अभिष्टलाई केन्द्रमा राखेर विश्वविद्यालयलाइ राजनीति गर्ने अखडा बनाउन फगत तर्क गरिरहेकाछन्। उनीहरुको गैर-शैक्षिक गतिविधिले गर्दा राजनीतिले आक्रान्त विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित भएको, प्राज्ञिक गतिविधि प्रभावकारी नभएको यथार्थतालाई देखावटी मनन गरेपनि त्यस्ता गतिविधि बन्द गर्न खासै तदारुकता देखाउदैनन् ।
यदाकदा
स्ववियु निर्वाचनलाई लोकतान्त्रिक अभ्यास, युवा नेतृत्वको विकास र विद्यार्थीको हितसग जोडेर यसको औचित्य भएको तर्क पनि
गरिन्छ तर अहिलेको बदलिएको समयमा यसलाई फरक ढंगले लैजान जरुरी छ। विश्वविश्वविद्यालयमा स्ववियु निर्वाचनको नाममा
गरिने लोकतान्त्रिक अभ्यासले राजनीतिक
हस्तक्षेपलाइ संथागत गरेको छ। जस्तो कि निर्वाचन सहजताका लागी विश्वविद्यालयका
पदाधिकारी, क्याम्पस प्रमुख, संकाय प्रमुख सम्म आफ्नो विचार निकट ल्याउन खोज्ने
अनि आफ्नो विचारसग नमिल्ने भए विभिन्न बहाना निकालेर अवरोध तथा असहयोग गर्ने
परिपाटी जस्तै छ। जसले गर्दा विश्वविद्यालयले राजनीतिक खिचातानीको चपेटा भोग्दै
आएकोछ।
अहिलेको
राष्ट्रिय राजनीति केन्द्रमा विद्यार्थी राजनीतिको पृष्ठभुमिबाट आएकाहरुको वर्चर्स्व
भएकाले पनि हुन सक्छ, राजनीतिमा आउन चाहने युवा वर्गले विद्यार्थी राजनीतिमा
स्थापित हुन जोडबल गरिरहेका छन्। अब यो परिपाटीलाई विस्थापित गर्न जरुरी छ। अहिलेको
व्यवस्थामा संघिय इकाई, स्थानीय निकायलाइ लोकतान्त्रिक अभ्यास तथा राजनीतिमा स्थापित
हुन खोज्ने युवाहरुको राजनीतिक उचाइको प्रस्थान विन्दु बनाउन पर्छ। अबका दिनमा विश्वविद्यालयमा
राजनीति गर्ने विद्यार्थी नेता भन्दा संघिय इकाई
तथा स्थानीय निकायहरुमा उद्दम/व्यावसाय, सेवामुलक क्षेत्रमा सफल तथा शैक्षिक/गैर शैक्षिक
क्षेत्रमा स्थापित युवा जमातलाई हौसला बढाउने, राष्ट्रिय संचार माध्यममा स्थान दिने,
दलको नेतृत्वमा त्यस्ता व्याक्तिहरुले स्थान पाउने माहोल बन्नुपर्छ। सदरमुकाम तथा
राजधानी केन्द्रित विश्वविद्यालयमा १५/२० वर्ष हल्लिएर, आन्दोलनमा ढुंगा मुडा
गर्दै नेताको पछी लागेर राजनीति गर्ने अनि नेतृत्वमा पुग्ने परमपरागत तरिका नफेरीए
सम्म विश्वविद्यालयमा हुने फोहोरी राजनीति समाप्त हुने छैन्। विद्यार्थीहक हितको आवाज उठाउने नाममा विश्वविद्यालयमा
राजनितिक उपस्थिति देखाउने कार्यले यसलाई उर्वर प्राज्ञिक थलो भन्दा पनि दलीय
पौठाजोरी खेल्ने मैदानमा परिणत हुदै गईरहेकोछ। सरकारी विश्वविद्यालयको यो रोग
अहिले निजि विश्वविद्यालयमा फैली सकेकोछ।
पंतिकारको
बुझाइमा स्ववियु विश्वविद्यालयको मर्यादा, सृजनात्मक
र रचनात्मक विकासको लागि चाहिन्छ भन्नु झुशिलाकिराले पुतलीलाई उड्न सिकाउछु भन्नु
जस्तै हो। विश्वविद्यालयको मर्यादा कायम गर्नु भनेको विश्वविद्यालयलाइ
प्रतिस्पर्धी बनाउनु हो । त्यसको लागि समय सापेक्ष पाठ्यक्रम, नविनतम ज्ञान
केन्द्रित उच्च अध्ययन/अनुसन्धान र प्रतिस्पर्धी प्राज्ञिक वातावरणको अपरिहार्य छ।
यहि साचोबाट नै उत्पादन हुने हुन राष्ट्र र समाजका लागि आवश्यक योग्य तथा
प्रतिस्पर्धी जनशक्तिहरु। जसको लागि विश्वविद्यालयमा राजनीतिक आस्थाको आवरणमा
गरिने असक्षम दलीय नियुक्ति रोक्नु, अराजक तथा गैर प्राज्ञिक क्रियाकलापलाइ निषेध
गर्नु मुख्य सर्त हुन। अब जिम्मेवार नेतृत्वबाट उच्च राजनैतिक प्रतिबद्दता तथा ठोस
कार्यान्वयन अपरिहार्य छ।
जहाँ
सम्म युवाको विश्वविद्यालयमा नेतृत्व विकासको कुरा छ अब यसलाई फरक तरिकाले
मुल्यांकन गर्नु पर्ने बेला आएकोछ। विश्वविद्यालय नविनतम ज्ञान विज्ञानका कुरा
सिक्ने, सिकाउने, खोज तथा अनुसन्धान गर्ने फोरम हो। यहाँ विद्यार्थीहरुले
क्षमता/व्यक्तित्व विकास गर्ने, विषयगत दक्षता, विशिष्ठता हासिल गर्ने प्रमुख
उदेश्य लिएर आउछन। जुन औसत २०-३० वर्षको उमेर सम्ममा पुरा हुन्छ। आफ्नो रुचिका विषय
र क्षेत्रमा आफुलाई काबिल बनाउनु नै विश्वविद्यालयमा आएका युवाहरुको पहिलो
प्रथामिकतो हुनुपर्छ। हो राजनीतिमा रुची हुने आफ्नो सहभागिता देखाउन पाउछन्। त्यसकालागि
अन्य पार्टीका विभिन्न फोरमहरुमा आबद्दहुनु उनीहरुको नैसर्गिक अधिकार हो। तर विश्वविद्यालयको
स्वायत्ता, स्वच्छ प्राज्ञिक गरिमा अक्षुण राख्दै प्रतिस्पर्धी बनाउनको लागि शिक्षालयको
प्रांगणमा दलीय राजनीतिक गतिविधिलाई पूर्णत निषेध गर्नु नै श्रेयकर देखिन्छ।
अबको पुस्ताले विश्वविद्यालयमा हासिल गरेको दक्षता र विशिष्ठतालाइ प्रयोग गरेर समाज, राष्ट र मानव कल्याणको लागि उसको योगदान, भिजन, गतिशील अभियानबाट आफ्नो नेतृत्वको सफल पहिचान दिन सक्नुपर्छ। अर्को शब्दमा भन्नु पर्दा अब त्यो मात्र नेता बन्ने वातावरण बन्नु पर्छ जो दक्ष होस, आफ्नो कार्य क्षेत्रमा सफल होस, सुम्पिएको जिम्मेवारीमा आफु र समुहलाइ सफलताको राजमार्गमा हिडाएको काबिल व्याक्ति होस। नकी अहिलेको जस्तो अराजक राजनीतिबाट दिक्षित भएको जसले राजनीतिलाई कमाइखाने भाडो मात्र बनाएकोछ। युवा पुस्ताले राजनीतिलाई सामाजसेवाको अभियानको रूपमा मात्र लिएर अघि बढ्ने अठोट गर्नु जरुरिछ। त्यो अभियान विश्वविद्यालयबाट होइन सामाजसग प्रतक्ष्य जोडिएका लोकतान्त्रिक इकाइहरुबाट शुरु गर्ने पद्दति बसाल्न सके राजिनितिले गिजोलेको शैक्षिक क्षेत्रले समय सापेक्ष अपेक्षित फड्को मार्ने थियो। अनि ठुलो संख्यामा सक्षम युवाहरुले प्रतक्ष्य राजनीति मार्फत अहिले भन्दा चाडै देशको विकासमा योगदान गर्न अवसरपाउने थिए। यस तर्फ सबै राजनीतिक दलहरुले गम्भिर भएर सोच्ने बेला आएकोछ।
अतः विश्वविद्यालयको विद्यार्थी राजनीतिको आराजकको डढेलोबाट प्रदुषित विद्यार्थी नेतृत्वले देश निर्माणको नेतृत्व गर्न सम्भव छैन्। यसको लागि विश्वविद्यालयलाइ दलीय राजनीतिको पन्जाबाट छुटकारा दिलाउनै पर्छ। राजनीतिको डिस्कोर्स र विश्व विद्यालयको प्राज्ञिक विकासमा नयाँ आयाम स्थापित गर्न जिम्मेवार पक्षले सोचून् ।
(लेखक: खड्का (twitter @Dhrubakhadka99) जापानको राष्ट्रिय अनुसन्धान संस्थानमा स्टाफ वैज्ञानिकको रुपमा कार्यरत छन्।)
***************
Published@ nepaljapan.com online
http://www.nepaljapan.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B5%E0%A4%BF%E0%A4%AF%E0%A5%81%E0%A4%95%E0%A5%8B-%E0%A4%94%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%B0-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A5%83%E0%A4%A4/

No comments:
Post a Comment